संसार सागरमा पौडनेलाई नै ‘मुनि’ या ‘यति’ भनिन्छ । उसैलाई ‘तीर्ण’, ‘मुक्त’ या ‘विरक्त’ भनिएको छ (एस ओहन्तरे मुणी, तिण्णे मुत्त बिरए बियाहिए त्तिबेमि) । जसले प्रज्ञा (बुद्धि या ज्ञान) को आँखाले लोकको स्वरूपलाई राम्ररी हेर्दछ या चिन्दछ उही ‘मुनि’ या ‘यति’ हो । मुनि बन्नका लागि आफ्ना कुटुम्बका मानिसको पिछा छुटाउने रीति यस प्रकारको छ । “हे यस जन्मका भाइबन्धुहरू हो, मेरो आत्मा, तिमीहरूको आत्मा होइन–यस्तो तिमी निश्चय नै बुझ । मेरो आत्मामा ज्ञानको प्रकाश भएको छ । यस कारण मेरो आत्मा आफ्ना वास्तविक भाइबन्धुसँग भेट्न जाँदै छ । हे आमाबुवा, तपाईंहरूले मलाई जन्म दिनुभयो, मेरो आत्मालाई जन्म दिनुभएको होइन । यस कारण यसको ममता त्याग्नूस् । हे यस जन्मकी पत्नी, तिमीले यस आत्मालाई प्रसन्न पार्दैनौँ, यस जन्मलाई प्रसन्न बनाउने गर्छौं । अतः यस आत्मासँग ममताभाव त्यागिदेऊ । हे यस जन्मका छोरा, तिमी यस जन्ममा जन्मिएका हौ, यस जन्मको आत्मासँग तिम्रो कुनै नाता छैन । यस कारण यस आत्मासँगको ममता छाडिदेऊ ।” एउटा गाथामा भनिएको छ, “हे भव्य जीव, बुझ किन बुझ्दैनौ ? परलोकमा धर्म प्राप्ति दुर्लभ छ । बितेको समय फेरि फर्केर आउँदैन । पटक पटक मनुष्य जीवन पाउनु गाह्रो छ । कोही बाल्यकालमा, कोही वृद्धावस्थामा र कोही जन्मनासाथ मर्छन् ।
आयु समाप्त भएपछि जीवन कुनै पनि किसिमले टिक्दैन । जसरी श्येन पन्छीले साना साना चरा खान्छ, त्यसै गरी कालले पनि जीवहरूको संहार गर्ने गर्छ ।” जुन जीव आमाबुवा आदिको मोहमा भुल्दछ, उसले दुर्गति भोग्दछ । फलामको सिक्रीलाई शरीरको तागतले चुँडाल्न सकिन्छ तर आमा, बुवा, छोरा, पत्नी र बन्धुरूपी पदार्थले बनेको मोहको सिक्री शरीरको तागतले पनि चुँडाल्न सकिँदैन । त्यसलाई चुँडाल्नका लागि परम वैराग्यरूपी धारिलो बन्चरो आवश्यक पर्छ । यस कारण थोरै समयको सुखाभासका लागि सागरको समान दुःख बोकी हिँड्नु उचित होइन । जुन कुटुम्बको सुखका लागि जीवले प्रयत्न गर्छ, सधैँ सुखी राख्न त्यो क्षणिक हुन्छ । यो संसार समुद्र जस्तै अपार छ र प्राणीहरू चौरासी लाख योनिमा भड्किरहन्छन् ।
यस संसार रूपी नाटकशालामा जीव कहिले ब्रह्माको रोल गर्छ र कहिले एकदम सानो किरा बन्ने गर्छ । यो संसारी जीव भाडाको कोठा जस्तै सबै योनिमा जान्छ र सबैलाई छाडेर फर्कन्छ पनि । विभिन्न थरीको रूप रचेर यो जीव, कर्मको योगबाट सम्पूर्ण लोकाकाशमा विचरण गर्दछ । ऊ यस लोकमा आएर अनन्त पटक जन्म मरण गरिसकेको छ । यो संसारी जीव चार प्रकारको योनि १. नरक, २. तिर्यग (पृथ्वीकाय), ३. मनुष्य र ४. देवमा विभक्त छ । यी चार वटै गतिमा जीव कर्मपीडित र दुःखी छ । सर्दी गर्मीमा एक समान बनिरहने पुरुषलाई ‘शीतोष्णत्यागी’ र धर्ममा अरुचि तथा अधर्ममा रुचि जगाउने प्रसङ्गलाई जसले सहन गर्दछ त्यसलाई ‘निग्रथ अरतिरति’ भनिन्छ । कतिकै कठोर, भयप्रद एवं कष्टकर परिस्थितिहरू किन नआओस् त्यसबाट जो विचलित हुँदैन त्यही दुःखलाई जित्ने हुन्छ ।
‘गीता’ मा कुनै पनि परिस्थितिमा विचलित नहुने पुरुषलाई ‘स्थितघी’ (स्थिर बुद्धि) भनिएको छ । यति व्रत धारण गर्नाले मनुष्य सम्पूर्ण सांसारिक क्लेशहरूबाट मुक्ति पाउन सक्दछ । यति धर्मको आवश्यक कर्तव्य तथा नियमका बारेमा तीर्थकर महावीर स्वामीले भनेका छन्, १. (जुन भिक्षु) भिक्षाको समय थाहा पाउने (कालज्ञ), २. भिक्षा दिने व्यक्तिको शक्ति थाहा पाउने (कालज्ञ), ३. भिक्षाको मात्रा थाहा पाउने (मात्रज्ञ), ४. भिक्षाको अवसर थाहा पाउने (क्षणज्ञ), ५. भिक्षाको नियम थाहा पाउने (स्व–समयज्ञ), ६. आफ्नो सिद्धान्त र अर्काको सिद्धान्त थाहा पाउने (स्व–समयज्ञ पर–समयज्ञ), ७. अर्काको अभिप्राय थाहा पाउने (भावज्ञ), ८. भोगोपभोगको सामग्रीमा लोभ नगर्ने (परिग्रह), ९. समयको अनुष्ठान गर्ने र १०. प्रतिज्ञा थाहा पाउने व्यक्ति हुन्छ, ऊ राग–द्वेषको छेदन गरेर मोक्षमार्गमा अघि बढाउँछ । भिक्षुकले आफ्ना लागि आवश्यक वस्त्र, पात्र (प्रतिग्रह), कम्बल, रजोहरण (पादपुच्छनका), स्थान (अवग्रह), शैया (कटासन) र आसन आदि सामग्री गृहस्थसँग माग्नु पर्छ । भिक्षुकले भिक्षा पाएपछि गर्व गर्नु हुँदैन । नपाएमा शोक गर्नु हुँदैन । धेरै पाएमा त्यो सङ्ग्रह गर्नु हुँदैन । यो मोक्ष मार्गका बारेमा आर्य तीर्थकरले बताउनु भएको हो, यस्तो आचरण गर्नाले बुद्धिमान पुरुष कहिले पनि कर्मको फन्दामा फस्दैन । इन्द्रीयहरूका निग्रह नै आत्मनिग्रह हो । साधक पुरुष आफूभित्र नै चुपचाप आफ्नो मित्र खोज्दछ । यसैलाई महावीर स्वामीले
‘आफ्नो आत्माको निग्रह’ भन्नुभएको छ । यदि संयमी पुरुष कुनै कारण कामवासना (ग्राम धर्म) ले पीडित भयो भने उसले यस्तो आहार गर्नु पर्छ, जसमा कुनै तत्व नहोस् । आहारको मात्रा कम गरेर निरन्तर ध्यानमा लागिरहनु पर्छ । एउटा गाउँबाट अर्को गाउँ जानु पर्छ । आहार पूर्ण रूपमा त्याग्नु पर्छ । स्त्री जातिलाई हेर्न पनि हुँदैन । उनीहरूसँग एकान्तवास गर्नु हुँदैन । यस्तो वेशभूषा बनाउनु हुँदैन जसमा स्त्री जाति आकर्षित हुन्छन् । दुःखी एवं प्रमादी मनुष्यले सधैँ सत्यको पक्ष लिनु पर्छ । मृत्युको मुखमा रहेको प्राणीलाई मृत्यु नआओस्, यस्तो हुनै सक्दैन । जो वासनाको वशमा छ, असंयमी छ, समयको पन्जामा जकडिएको छ र जो दिनोरात सङ्ग्रह गर्नमा लागि रहन्छ, निश्चय नै ऊ अनेकौँ किसिमको जीवमा जन्म लिएर दुःखको भट्टीमा पोलिइरहन्छ । मुनिले रुखासुखा आहार नै भक्षण गर्नु पर्छ । जुन बुद्धिमान मनुष्यले शरीरदेखि आत्मा अलग गरेर हेर्दछ ऊ बिनामोह गरेर शरीरलाई तपले क्षीण बनाउन सक्छ । त्यागी यतिहरूका लागि ब्रह्मचर्य पालन गर्नका लागि तप एउटा आवश्यक विधान हो ।
तप गरेपछि नै सर्वज्ञ, वीतराग एवं अहिंसा प्रधान सर्वोत्तम धर्म प्राप्ति हुन्छ । तपद्वारा विजय गरिनुपर्ने उपसर्ग दुई किसिमको हुन्छ– अनुकूल र प्रतिकूल । यी दुवै आपसमा एक अर्काका विरोधी हुन् । यिनलाई तप या संयमबाट नै जित्न सकिन्छ । भनिएको पनि छ, संसारत्यागी, यति धर्मको पालन गर्न तत्पर, निर्दोष आहार गर्ने र अनेक किसिमका तप गर्ने अनगार (गृहत्यागी) लाई ‘अनुकूल उपसर्ग’ संयमको उच्च स्थानबाट लेश मात्र पनि खसाल्न सक्दैन । आमा, बुवा, पत्नी, पुत्र आदिको करुणाजनक वचन एवं रोदन, शोक नै ‘प्रतिकूल उपसर्ग’ हो । जुन साधुले यसतर्फ ध्यान दिँदैन उसले नै मुक्ति प्राप्त गर्दछ । मोक्षको पाँच उपायलाई जैन धर्ममा ‘पाँच रत्न’ भनिएको छ । यसको नाम हो ः १. संसार, २. मोक्ष, ३. मोक्षको साधन, ४. मोक्ष साधनको मनोरथ र ५. शिष्यहरूको शास्त्रपठन लाभ । ‘संसार’ जीवमा रहेको मित्थ्याबुद्धि ज्ञानद्वारा हटाउन सकिन्छ । ज्ञान नै ‘मोक्ष’ को दाता हो ।
जो प्रत्येक दृश्यले मुक्त आफ्नै स्वरूपमा लीन हुन्छ त्यो जीव नै मुक्त हो । संसारको कर्म रूप ढोकाको उद्घाटनमा जसले आफ्नो शक्ति देखाएको छ र जो ठुलो प्रभावशाली छ, यस्ता शुद्ध जीव मोक्षको साधक हो । महामुनिको जीवन सबै प्रकारको कर्मको साधन भएको अवस्थामा मोक्ष समधनको मनोरथ पूर्ण हुने गर्छ । जुन श्रावक र मुनिले शिष्यहरूको शास्त्रपठन लाभ बुझ्दछ ऊ कम समयमै परमात्माभाव बुझ्न सक्दछ । यति जीवनको आवश्यक कर्तव्यमा १. मुर्छा (मित्रता या आशक्ति) लाई त्याग, २. एकाङ्गी जीवनमा रहनु, ३. स्त्री आदिको संसर्ग त्याग, ४. वचन–शुद्धि, ५. अज्ञानजन्य प्रवृत्ति त्याग, ६. विषयहरूको इच्छा त्याग, ९. मानसिक बल, १०. कषायहरूको त्याग, ११. मोह त्याग र १२. स्वार्थपरता त्याग पर्दछन् । ऐहिक जीवनको अभ्युदय र पारलौकिक जीवनको निःश्रेयस सिद्धिका लागि आचार दर्शनलाई जैन मुनि समाजमा श्रेष्ठ मानिएको छ । कुनै पनि धर्मप्रवण जैनीका लागि, शास्त्रनिर्दिष्ट नियमहरूको समुचित निर्वाह गर्नु अनिवार्य भनिएको छ । जैन दर्शनमा आचारको श्रेष्ठतालाई जुन रूपमा स्वीकार गरिएको छ त्यसको तुलना मीमांसा दर्शनसँग गर्न सकिन्छ । जैन दर्शनमा तीर्थङ्कर महात्माहरूलाई त्यसै परम पदको अधिकारी भनिएको छ । जैनका आचार दर्शनमा एउटा विशेषता यस्तो पनि देख्न पाइन्छ, त्यसको आधार व्यावहारिक जीवनको वास्तविकतासँग परीक्षित छ ।