• १७ असार २०८१, सोमबार

नदै गुफाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गरिँदै

blog

नदै गुफा । तस्बिर:रासस

जुम्ला, असार १४ गते । जुम्लाको तिला गाउँपालिका-९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचार प्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । 

नदैको प्रचार प्रसार, गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त सर्शत अनुदानमार्फत ९० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । सङ्घीय सरकारबाट प्राप्त बजेटबाट गुफाको भौतिक संरचना, गुफासम्म पुग्ने पदमार्ग, धर्मशालालगायत भौतिक संरचना निर्माण गरिने उहाँको भनाइ छ । 

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागि बजेट सङ्घीय सरकारबाट बजेट व्यस्थापन भएको छ । “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागतरुपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने विशेषता देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरेका छौँ ।”

गुफा ऐतिहासिकरुपमा महत्वपूर्ण मानिए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयको छ । ऐतिहासिक यस गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले पहल थालेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । पालिकाले गुफाको बारेमा विस्तुत अवलोकन, थप अनुसन्धान तथा यहाँको विशेषताबारे खोजी गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । नीति कार्यक्रम तथा बजेटमा तिलाका पर्यटकीय क्षेत्रको परिचान गरी प्रचार प्रसार र संरक्षणलाई पालिकाले विशेष प्रथामिकतामा राखेको गाउँपालिका कार्यालयले जनाएको छ । 

नाग्ममा अर्गानिक कोसेली घर स्थापना

कर्णाली राजमार्ग सडकखण्डको जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्गानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरण र आन्तरिक तथा बाह्य पर्यटनसम्म अर्गानिक कोसेली सहजरुपमा पुर्याउने उद्देश्यले राजमार्गको कालिकोट, जुम्ला हुँदै मुगुसम्मको मुख्य खण्डको नाग्म बजारमा अर्गानिक कोसेली घर स्थापना गरिएको हो ।

कर्णालीका रैथाने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरी बजारीकरण गर्नको लागि कोसेली घर स्थापना गरिएको सहकारीका प्रबन्धक विश्वराज खत्रीले बताउनुभयो । संस्थामा आवद्ध सदस्यहरुको जीविकोपार्जनमा सुधार गर्ने र किसानलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले उक्त कोसेली घर स्थापना गरिएको उहाँको भनाइ छ । उत्पादित रैथाने कृषिबाली सिधैँ उपभोक्ताको पहुँचमा पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई राहत पुग्ने खत्रीले बताउनुभयो । कोसेली घरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ । 

स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरुपमा बिक्री गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्गमा कोसेली घर सञ्चालन गरिएको सहकारी संस्थाले जनाएको छ । सहकारीमा आवद्ध महिला सदस्यहरुले उत्पादन गरेका रैथाने बाली कोसेली घरमा राखिएका छन् । जुम्ला र कालिकोटका महिलाले उत्पादन गरेका वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको हो । रासस