• १७ असार २०८१, सोमबार

सदरमुकाममा ‘टाउन प्लानिङ’ गरिने

blog

चन्दननाथ नगरपालिका रहेको जुम्ला सदरमुकाम ।

जुम्ला समाचारदाता

जुम्ला, असार १४ गते  । चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ६७ करोड १० लाख ३४ हजार १०९ रुपियाँ बराबरको बजेट ल्याएको छ । बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजनाको सहकार्यमा हालसम्म बन्न नसकेको जुम्ला सहरको टाउन प्लानिङ गर्ने योजना अगाडि सारिएको छ । प्रतिघर बिमा कार्यक्रमलाई नमुना बनाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । 

नगरपालिकाले सडकमा दायाँबायाँ अनिवार्य वृक्षरोपण गर्ने भएको छ । नगर सभामा प्रस्तुत बजेटमा नगरवासीका लागि यातायात सुविधा अन्तर्गत नगर बस सञ्चालनमा ल्याउने उल्लेख छ । लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि सुधारगृह स्थापना गरिने छ । 

प्रशासनिक सेवालाई नियमित तथा छिटोछरितो र हाँसेर सेवा दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले लगानीमैत्री वातावरण सिर्जना गर्न ठुला तथा मझौला उद्योग स्थापना गर्न स्थानीय तहबाट आवश्यक समन्वय र कर छुट दिने नीति लिएको छ । 

चन्दननाथले भौतिक पूर्वाधार र भौतिक पूर्वाधार तथा विभिन्न खनिज तथा नदीजन्य क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने नीति बनाउने तयारी गरेको छ । नक्सापास गरेर मात्रै निर्माण गर्ने व्यवस्था र हालसम्म बनेका घरको अभिलेखीकरण गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।   यस्तै नगरले चुनौतीका रूपमा रहेको फोहोरलाई व्यवस्थापन गर्न आधुनिक ल्यान्ड फिल्डसाइट निर्माणको पहल गर्ने, जथाभाबी फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही, पोलिथिन झोला निरुत्साहित, जथाभाबी राखिएका सडकपेटी, फुटपाथ तथा पार्किङ व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  

महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसारको जोखिम कम गर्न जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थालाई बाल, किशोरकिशोरी, अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री संस्थाका रूपमा विकास गरिने उल्लेख छ । जुम्लालाई पर्यटकीय हबका रूपमा विकास गरिने छ ।