• १५ असार २०८१, शनिबार

खार्पुनाथको बजेट ३७ करोडभन्दा बढी

blog

गाउँ सभा सञ्चालन गर्दै अध्यक्ष रावल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार १२ गते ।
 खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको १५औँ गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले ल्याउन भएको बजेट पारित गरिएको हो ।

आगामी आर्थिक वर्ष ०८१।०८२ का लागि ३७ करोड ९२ लाख ७६ हजारको बजेट आएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रालवले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ २५ करोड २३ लाख ४० हजार र पुँजीगतमा १२ करोड ६९ लाख ३६ हजार बजेट विनियोजित गरिएको छ । यसको स्रोतमा सङ्घ, प्रदेश र केही अंश आन्तरिक स्रोतलाई मानिएको छ ।

सङ्घीय सरकारबाट १८ करोड ८० लाख ३६ हजार बजेट शर्सत र सम्मानीकरण अनुदान सात करोड १२ लाख बजेट आएको छ । त्यसैगरी राजस्व बाँडफाँटबाट सात करोड १६ लाख आएको छ ।

यता कर्णाली प्रदेश सरकारबाट शर्सत अनुदान तीन करोड १५ लाख ३५ हजार आएको छ भने सम्मानीकरण अनुदान ६४ लाख पाँच हजार आएको छ ।

यसैगरी, प्रदेश सरकारबाट राजस्व बाँडफाँटबाट ८२ लाख बजेट आएको छ भने आन्तरिक राजस्वबाट २० लाख ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसअघि अध्यक्ष रावलले नीति सभामा प्रस्तुत गर्नुभएको थियो । सभाबाट सर्वसम्मत नीति, बजेट तथा कार्यक्रम पारित गरिएको छ । बजेटमा क्षेत्रगत लगानी पनि गरिएको छ । बजेटमाथि व्यापक छलफल गरेर पारित गरिएको गाउँपालिका प्रवक्ता भरतजंग शाहीले बताउनुभयो ।