• १३ असोज २०८१, आइतबार

गोरखापत्रकर्मी लामिछाने सम्मानित

blog

चौरजहारी नगरपालिकाले पत्रकार लामिछानेलाई सम्मानित गर्दै । तस्बिर सौजन्यः धर्मराज बिष्ट

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार ११ गते । गोरखापत्र दैनिकका मुसीकोट (रुकुमपश्चिम) समाचारदाता राजु लामिछाने सम्मानित हुनुभएको छ । उहाँलाई जिल्ला समन्वय समिति, चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिकाले पुरस्कारसहित छुट्टाछुट्टै कार्यक्रममा सम्मानित गरेका हुन् । 

चौरजहारी र आठविसकोट नगरपालिकाले नगर सभाको अवसरमा लामिछानेलाई पुरस्कारसहित सम्मान गरेका हुन् । जिल्ला समन्वय समितिले जिल्ला सभाको अवसरमा उहाँलाई सम्मानपत्र प्रदान गरिएको छ ।  

चौरजहारी नगरपालिकाले पत्रकार लामिछानेसँगै पत्रकार महासङ्घ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी र रेडियो चौरजहारीमा कार्यरत राजेन्द्र विकलाई पनि नगदसहित सम्मान गरेको छ । विकास निर्माण र नागरिक अपेक्षालाई पत्रकारिताको माध्यमाबाट सुसूचित गरेको भन्दै उहाँहरूलाई सम्मानित गरिएको छ ।  

त्यसैगरी आठविसकोट नगरपालिकाले गोरखापत्रकर्मी लामिछानेसँगै कान्तिपुरका महेश केसी र नयाँ पत्रिकाका मनिष खड्का र नयाँ नेपाल एफएमका प्रेम कुसारीलाई पनि सम्मान गरेको हो । पत्रकारिता क्षेत्रबाट नगरपालिकाको विकास र विपद्को समयमा गरेको उत्कृष्ट कामको सम्मान स्वरूप तीनै जनालाई पुरस्कारसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।  

जिल्ला समन्वय समितिले जिल्ला सभाको अवसरमा लामिछानेसँगै पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसी, सचिव हिरा परियार, कान्तिपुर दैनिकका महेश केसी, नयाँ पत्रिका दैनिकका मनिष खड्का र रेडियो सानीभेरीमा कार्यरत देवकुमार ओलीलाई पनि सम्मान गरेको छ ।