• २३ असार २०८१, आइतबार

तनहुँका नौ पालिकाको बजेट सात अर्ब ३८ करोड

blog

व्यास नगरपालिकाका प्रमुख नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार ११ गते । 
तनहुँका १० मध्ये नौ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । ती पालिकाले करिब सात अर्ब ३८ करोडको अनुमानित आयव्यय सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बजेट व्यास नगरपालिकाको रहेको छ भने सबैभन्दा देवघाट रहेको छ ।

आँबुखैरेनी गाउँपालिका बाहेक सबै स्थानीय तहले सोमबार बजेट सार्वजनिक गरेका हुन् । आँबुखैरेनीद्वारा नीति तथा कार्यक्रम पेस गरेपनि बजेट भने सार्वजनिक गरिएको छैन ।

सबैभन्दा धेरै व्यास नगरपालिकाले दुई अर्ब चार करोड ९३ लाख ६७ हजारको  आय व्यय विवरण सार्वजनिक गरेको छ । सोमबार आयोजित स्थापनाकालदेखिको ४१ औँ नगर सभामा नगर उपप्रमुख इन्दिरा दरैले उक्त अनुमानित बजेट तथा आय व्यय विवरण सार्वजनिक गर्नुभयो  । जसमध्ये चालु तर्फ ९४ करोड ७३ लाख ५६ हजार तथा पुँजीगत तर्फ एक अर्ब नौ करोड २० लाख २० हजार रुपियाँ बाँडफाँट गरिएको छ । आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदान ५८ करोड ३१ लाख, सङ्घ सरकारको पुँजीगत अनुदान ५७ करोड ९९ लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान १८ करोड नौ लाख, आन्तरिक स्रोतबाट १८ करोड, सङ्घ सरकारको राजस्व बाँडफाँडबाट १६ करोड ३६ लाख, नगर विकास कोषबाट ऋण १५ करोड अनुमान गरिएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रस्तुत गरिएको कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । कृषि सहकारी, कृषक समूहको व्यावसायिक प्रवर्द्धन र उत्पादनलाई बजारीकरण गरिने उल्लेख गरिएको छ । कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गर्दै कृषि उत्पादनमा जोड दिने, उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने, जैविक खेती प्रणालीमा जोड दिने नीति लिइएको छ । व्यावसायिक बाख्रा पालन, माछा पालन, मौरी पालन, स्थानीय जातको गाइभैंसी, बङ्गुर, कुखुरा तथा अन्य पशुपन्क्षी पालनमा सहयोग पुर्‍याई बजार प्रवर्द्धन गर्ने कार्य अघि बढाइएको छ । कृषि पेसाको सुरक्षाको अनुभूति दिन कृषकलाई बिउ बिजन, उपलब्ध गराइने, पशुपन्क्षी पालन कार्यमा सहयोग पुर्‍याई बजार प्रवर्द्धन गर्ने कार्य अघि बढाइने उल्लेख छ । व्यावसायिक कृषकको तथ्याङ्क लिई किसान परिचयपत्र वितरण गरी विभिन्न संस्थाहरूसँग समन्वय गरी सहुलियत दरमा कृषि ऋण एवम् कृषि बिमा गर्ने कार्य अघि बढाइने उल्लेख गरिएको छ ।

व्यासपछि शुक्लागण्डकी नगरपालिकाले बजेट धेरै रहेको छ । शुक्लागण्डकीले  एक अर्ब १२ करोड ३९ लाख रुपियाँको बजेट प्रस्ताव गरेको छ । नगर प्रमुख कृष्णराज पण्डितले अनुमानित आय पेस गर्नु भएको हो । सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ४६ लाख, सङ्घीय सरकारबाट राजश्व बाडाफाँडतर्फ प्राप्त रकम १३ करोड १० लाख रुपियाँ, सशर्त अनुदान ६२ करोड ३६ लाख, विशेष अनुदान ६० लाख, समपूरक अनुदान एक करोड १० लाख प्राप्त हुने अनुमान छ ।

यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदान दुई करोड १० लाख, राजस्व बाँडफाँड एक करोड ९६ लाख नौ हजार, समपूरक अनुदान एक करोड प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी, नगरको आन्तरिक आय १२ करोड १० लाख, सडक बोर्ड नेपालबाट अनुदान ७० लाख, भरजग्गा रजिस्ट्रेसन शुल्क तीन करोड रुपियाँ प्राप्त हुने अनुमान छ । प्रस्तावित बजेटमा ४७ करोड ४९ लाख तीन हजार पूर्वाधार, चार करोड १५ लाख ५६ हजार सामाजिक, एक करोड १८ लाख ७३ हजार आर्थिक, एक करोड १८ लाख ७३ हजार वातावरण र ५९ लाख ३६ हजार रुपियाँ सुशासनतर्फ सिलिङ राखिएको छ । चालु आर्थिक वर्षमा १२ करोड ५१ लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने प्रक्षेपण गरेको नगरले आगामी आर्थिक वर्षमा १२ करोड १० लाख रुपियाँ लक्ष्य राखेको छ ।

भानु नगरपालिकाले ८५ करोड १६ लाख ७४ रकम सार्वजनिक गरेको छ । उपप्रमुख उमा गोतामेले चालुतर्फ ६४ करोड ११ लाख ९१ हजार पुँजीगत तर्फ २१ करोड चार लाख ८३ हजार सार्वजनिक गर्नुभयो ।

यसैगरी, भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष कोलागि ६२ करोड ४७ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार भएको नगर सभामा नगर उपप्रमुख शारदा खनालले सो बजेटमध्ये चालु तर्फ ६९.५९ प्रतिशत अर्थात् ४३ करोड ४७ लाख नौ हजार रुपियाँ र पुँजीगत तर्फ ३०.४१ प्रतिशत अर्थात् १८ करोड ९९ लाख पाँच हजार रुपियाँ बाँडफाँट गरिएको छ ।

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल बजेट ४५ करोड ५८ लाख ८८ हजार पाँच सयको बजेट प्रस्तुत गरिएको छ । उपाध्यक्ष भुवन सिंह गुरुङले चालु २१ करोड २७ लाख २८ हजार पाँच सय रुपियाँ र पुँजीगत ४५ लाख रुपियाँ प्रस्तुत गर्नुभयो ।

घिरिङ गाउँपालिकाले ५५ करोड आठ लाख, १३ हजारको प्रस्तुत गरेको छ । उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये आन्तरिक स्रोत अनुदान १३ करोड २१ लाख, सङ्घीय वित्तीय समानीकरण अनुदान आठ करोड ४१ लख, सङ्घीय राजस्व बाँडफाँट आठ करोड ६४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण एक करोड पाँच लाख, प्रदेश सरकार राजश्व बाँडफाँट ५८ लाख, सङ्घीय सशर्त अनुदान १७ करोड १८ लाख ४१ हजार, सङ्घीय समपूरक अनुदान तीन करोड प्रदेश समपूरक अनुदान ६० लाख र प्रदेश सशर्त अनुदान ४० लाख अनुमान गरिएको छ ।

म्याग्दे गाउँपालिकाले ६७ करोड ४९ लाख २९ हजार प्रस्तुत गरेको छ । उपाध्यक्ष वालकृष्ण घिमिरेले प्रस्तुत गरिएको बजेटमा चालु तर्फ ६६.४५ प्रतिशत अर्थात् ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ ३३.५५ प्रतिशत अर्थात् २२ करोड ६५ लाख बाँडफाँट गरिएको छ । बन्दिपुर गाउँपालिकाले ५४ करोड ४५ लाख ४४ हजार प्रस्तुत गरेको छ ।  उपाध्यक्ष पञ्चमाया गुरुङले सो अनुमानित बजेट प्रस्तुत गर्नुभयो । ऋषिङ गाउँपालिकाले ५२ करोड २४ लाख, चार हजारको प्रस्तुत गरेको छ । उपाध्यक्ष गिनुमाया थापाले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । कुल बजेटमध्ये ६३ प्रतिशत चालु र ३७ प्रतिशत पुँजीगत रहेको छ ।

आवुँखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष कोलागि नीति तथा कार्यक्रम पेस गरेको छ । उक्त नगरपालिकाले बजेट भने केही पछि पेस गर्ने भएको छ । नीति तथा कार्यक्रममा आवँखैरेनीले आगामी वर्ष कोलागि पूर्वाधार विकास तथा स्वास्थ्य र शिक्षा तथा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँका स्वास्थ्य चौकी तथा विद्यालयको कच्ची भवन विस्थापित गरी सुविधा सम्पन्न पक्की भवन बनाउने, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने, शैक्षिक सुधार गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।