• १५ असार २०८१, शनिबार

डेंगु नियन्त्रण गर्न महिला स्वास्थ्यकर्मी परिचालन गरिँदै

blog

बुटवलमा डेंगु नियन्त्रण गर्न आयोजित सचेतनामूलक कार्यक्रम । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, असार ११ गते । 
बुटवल उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । वर्षायाममा धेरै हुने डेंगु नियन्त्रणका लागि बुटवलमा सचेतनामूलक अभियान सुरु भएको छ ।

वर्षायाम सुरु भएसँगै एडिस जातको लामखुट्टेको सक्रिय हुने र टोकाइबाट डेंगु रोग सर्ने भएकाले नियन्त्रणका लागि बुटवल उपमहानगरले स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरणसँगै सचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।

उपमहानगरले महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग डेंगु सङ्क्रमण नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । डेंगु रोग पानीमा बस्ने लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले घर वरपर टायर, गमला, ड्रम लगायतमा पानी जम्न नदिन  स्वास्थ्यका विज्ञहरूले सुझाव दिएका छन् ।

वर्षायाम सुरु भएसँगै डेंगुका बिरामीको सङ्ख्या पनि बढ्दै जाने भएकाले लामखुट्टेको टोकाइबाट बच्न सके डेंगुबाट बच्न सकिने उनीहरूले बताएका छन् । 

बुटवल उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेयले डेंगु  रोग नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै टोल टोलमा पुगेर जनचेतना फैलाउनका लागि आग्रह गर्नुभयो ।

लार्भा खोज र नष्ट गर अभियानसँगै सबै जना सचेत बन्न सके डेंगु रोगबाट बच्न सकिने उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखाका अधिकृत कल्पना भुसाल पाण्डेयले नगरका १९ वटै वडाका १७६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण सञ्चालन गरिएको र उहाँहरूमार्फत टोल टोलमा पुगेर सचेतना फैलाइने बताउनुभयो ।

बुटवलमा डेंगु नियन्त्रणका लागि हरेक वर्ष खोज र नष्ट गर अभियान चलाउने गरिएको छ । तर यो वर्ष भने अभियान सुरु गर्नै ढिलाइ भएको छ ।

बुटवलका स्वास्थ्य शाखा प्रमुख पाण्डेले बुटवलका विभिन्न वडा र टोल टोलमा पुगेर डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाइने बताउनुभयो ।

उहाँले वर्षायाममा घर वरिपरि फोहर पानी जम्न नदिने, ड्रम, टायर तथा ग्यालेनमा पानी जम्न नदिने र ढल तथा कुलो सफा राखेर लामखुट्टे बस्ने वासस्थान नष्ट गरे डेंगु नियन्त्रण हुने बताउनुभयो ।

रुपन्देहीका अधिकांश पालिकाहरूले वर्षा सुरु भएपछि डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर अभियान चलाउँदै आएका छन् । पालिकाहरूले यो वर्ष पनि अभियान चलाउने तयारी गरेका छन् ।