• १४ असार २०८१, शुक्रबार

कोहलपुर नगरपालिकाको बजेट एक अर्ब पाँच करोड

blog

कोहलपुरको नीति र कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख आचार्य । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ११ गते । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब पाँच करोड बढीको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सुरु भएको १५ औँ नगर सभा अधिवेशनमा नगर उप-प्रमुख सङ्गीता सुबेदीले एक अर्ब पाँच करोड नौ लाख २७ हजार को आय-व्यय सार्वजनिक गर्नुभएको हो । 

उपप्रमुख सुवेदीका अनुसार कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पुँजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त हुने सङ्घीय समानीकरण अनुदान १८ करोड ९६ लाख, सङ्घीय सशर्त अनुदान ३७ करोड २४ लाख, सङ्घीय समपूरक अनुदान ५५ लाख, सङ्घीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपूरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान बापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण गरिएको उपप्रमुख सुवेदीले बताउनुभयो ।

यसअघि कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका अग्रजहरूलाई विद्यार्थीहरूसँग भेट गराई स्थानीय पाठ्यक्रमका विषयवस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरूलाई विद्यार्थीहरूको सिकाई उपलब्धिप्रति जिम्मेवार बनाइने लगायत नीति नगरपालिकाले लिएको छ ।