• १२ असोज २०८१, शनिबार

बर्दिबास नगरपालिकाको बजेट एक अर्ब १२ करोड

blog

बर्दीबास नगरपालिको नगरसभामा आय व्यय प्रस्तुत गर्नुहुँदै उपप्रमुख तारादेवी महतो साथमा नगरप्रमुख प्रहलाद क्षेत्री । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, असार १० गते । 
बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि एएवम् अर्ब १२ करोड बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा सोमबार आयोजित १४ औँ नगर सभामा उपप्रमुख तारादेवी महतोले एक अर्ब १२ करोड ९५ लाख रुपियाँका अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

यो बजेट आव ०८०/८१ को तुलनामा ६.८७ प्रतिशत अर्थात् ६ करोड ८७ लाख रुपियाँले बढी हो ।

आन्तरिक आयबाट वार्षिक १३ करोड ६६ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा सङ्घीय सरकारबाट ८४ करोड ४८ लाख, प्रदेश सरकारबाट चार करोड २५ लाख आय हुने अनुमानित बजेट नगर उपप्रमुख तारादेवी महतोले प्रस्तुत गर्नुभयो ।

नगरपालिकाको कूल विनियोजनमा तलब, भत्ता तथा अन्य खर्चका लागि १८ करोड ७५ लाख र कार्यालयको पुँजीगत खर्चतर्फ दुई करोड ७५ लाख रुपियाँ प्रस्ताव गरिएको छ । विषयगत क्षेत्रअनुसारको नीति कार्यान्वयनका लागि विकाश खर्चतर्फ २८ करोड २६ लाख ५९ हजार विनियोजन गरिएको छ ।

स्वास्थ्य बजेट तर्फ कर्मचारी तलब भत्ता, स्वास्थ्य उपकरण र औषधी खरिदका लागि पाँच करोड ५२ लाख बजेट छुट्याइएको छ ।

सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि ६ करोड २० लाख, शिक्षामा दुई करोड ५० लाख तथा युवा खेलकुद विकाशका लागि ४० लाख विनियोजन गरिएको छ ।

पानीको सर्वथा अभाव रहने बर्दिबासमा स्वच्छ खानेपानी आपूर्ति र सरसफाइतर्फ ८५ लाख, कृषि सिँचाइ र इनार, डीप बोरिङमा ९५ लाख र आन्तरिक पर्यटनमा ३९ लाख विनियोजन गरिएको छ । भवन तथा सहरी विकाशतर्फ एक करोड ५० लाख छुट्टाइएको छ ।

महिला एवम् लक्षित वर्गको सशक्तीकरणका लागि ७२ लाख विनियोजन गरिएको छ । विद्युती करणका लागि ८० लाख र कृषि तथा पशुपालनमा ६५ लाख विनियोजन गरिएको छ । 

वडा स्तरीय योजनाहरू सञ्चालन गर्न एक मुष्ट १२ करोड ४७ लाख विनियोजन गरिएको छ ।

महिला हिंसाका लागि सधैँ चर्चामा रहने बर्दिबासको यो बजेटमा हिंसापीडित महिलाका लागि भने सम्बोधन गरिएको छैन । त्यस्तै, बर्दिबासको समस्या बनेको लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि नीति तथा कार्यक्रममा समेटिए पनि यो शीर्षकमासमेत बजेट छुट्टाइएको छैन । गत वर्ष लागुऔषध दुर्व्यसन रोकथाम र सचेतीकरणका लागि पाँच लाख छुट्याइएको थियो ।

बजेट प्रस्तुत गर्नुहुँदै उपप्रमुख तारादेवी महतोले भन्नुभयो, ‘‘वार्षिक योजना तथा बजेट र कार्यक्रम निर्माण गर्न जति सजिलो हुन्छ । कार्यान्वयन पक्ष उत्तिकै जटिल भएकाले प्रस्तुत बजेटलाई सफल, परिणाममुखी बनाउन सबैको साथ, सहयोग र शुभेच्छाका लागि आग्रह गर्दछु ।’’