• १२ साउन २०८१, शनिबार

बजेटको प्राथमिकतामा कृषि र सडक सञ्जाल

blog

हरि कोइराला

उर्लाबारी, असार १० गते । मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।

सोमबार पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले ८५ करोड ४१ लाख आठ हजार रुपियाँको बजेट नगर सभामा प्रस्तुत गर्नुभयो । नगर उपप्रमुखको पारिवारिक सदस्यको मृत्यु भई मलामी जानुपर्ने भएपछि प्रवक्ता कार्कीले बजेट पेस गर्नुभएको हो । पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा भएको १५ औँ नगर सभामा कार्कीले चालु आव ०८१/०८२ का लागि नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदान एक करोड ५० लाख, सङ्घीय सरकार ससर्त अनुदान पुँजीगत दुई करोड ३५ लाख, सङ्घीय सरकार ससर्त अनुदान चालु २७ करोड १० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट १२ करोड ५९ लाख विज्ञापन करबाट एक लाख रुपियाँ प्राप्त हुने अनुगमन गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड आठ लाख ६४ हजार, प्रदेश सरकार ससर्त अनुदान पुँजीगत एक करोड ६ हजार, प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने एक करोड ४६ लाख ८७ हजार, प्रदेश सरकार ससर्त अनुदान १५ लाख २८ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट अनुदान पाँच करोड ७९ लाख ५९ हजार र आन्तरिक आम्दानीबाट ६ करोड ६० लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।  उपप्रमुख देवीमाया काफ्ले अनुपस्थित भएपछि प्रवक्ता कार्कीले बजेट पेस गर्नुभएको हो ।

यस्तै, खर्च तर्फ चालु खर्च १३ करोड ४५ लाख,कार्यक्रम खर्च, दुई करोड ६३ लाख,पुँजीगत तथा कोष व्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास एक करोड ४५ लाख, सामाजिक विकास तर्फ, चार करोड २५ लाख, वन वातावरण तर्फ १५ लाख,सुशासन र संस्थागत विकास तर्फ १३ लाख, वडा पुँजीगत ६ करोड ३० लाख, न्यायिक समिति २० लाख ससर्त र समपूरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । आव २०८०÷०८१ मा ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपियाँको बजेट प्रस्ताव गरेको पथरीशनश्चरे नगरपालिकाले अनुमान गरेभन्दा १० करोड ७६ लाख ७९ हजार रुपियाँ मात्र आम्दानी गर्न सक्यो ।

कानेपोखरीको बजेट झण्डै ८ करोड बढ्यो

कानेपाखेरी गाउँपालिकालेले ६५ करोड ५७ लाख २५ हजार रुपियाँको बजेट गाउँ सभामा पेस गरेको छ । पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले १६ औँ गाउँ सभामा बैङ्क मौज्दात तीन करोड रुपियाँ र चालु आवको भुक्तानी दिनुपर्ने दायित्व चार करोडसहित सङ्घीय वित्तीय समानीकरण अनुदानबाट १२ करोड ८८ लाख, सङ्घीय ससर्त अनुदान २४ करोड ३९ हजार, सङ्घीय राजस्व बाँडफाँट एक करोड २६ लाख सङ्घीय समपुर र विशेष अनुदान तीन करोड प्रदेश समानीकरण अनुदान ८१ लाख ३४ हजार, प्रदेश राजस्व बाँडफाँट ५२ लाख २९ हजार, प्रदेश ससर्त अनुदान र प्रदेश समपूरक अनुदान एक करोड ५९ लाख २३ हजार घरजग्गा रजिस्ट्रेसन र वडाबाट प्राप्त हुने दुई करोड ५० लाख र खोला ठेक्काबाट दुई करोड २० लाख आम्दानी हुने अनुमान गरिएको छ । कानेपोखरीले गत वर्षभन्दा करोड कमीको बजेट अनुमान गरेको छ । गाउँपालिकाले कृषि र पशुपालनका लागि किसानको बाली बिमा, पशुमा कृत्रिम गर्भाधान, बिमा, बीउ र कृषि यान्त्रिकरणमा विशेष जोड दिएको छ ।

लेटाङको झण्डै १५ करोडले घट्यो बजेट

लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपियाँको अनुमानित आय प्रस्तुत गरेको छ । नगर सभामा पालिकाका नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आन्तरिक आयबाट तीन करोड ७१ लाख ५० हजार, राजस्व बाँडफाँटबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हन्तन्तरणबाट ३६ करोड आठ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट दुई करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । आर्थिक वर्ष ०८०/८१ मा ७५ करोड नौ लाख सात हजार रुपियाँको अनुमानित बजेट पेस गरेको लेटाङले आगामी आवका लागि झण्डै १५ करोड बजेट कम अनुमान गरेको छ ।

रतुवामाईमा कृषि र सडक सञ्जाल विस्तारमा जोड

दक्षिणी मोरङको रतुवामाई नगरपालिकाले आगामी आवका लागि ७८ करोड ९० लाख ३३ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । स्थानीय विश्वनाथ मन्दिरमा नगरका उपप्रमुख दमयन्तादेवी चुँडाले १४ औँ नगर सभामा बजेट प्रस्तुत गर्नु भएको हो । आफ्नो भूगोल पूर्णरुपमा कृषि क्षेत्र रहेको नगरपालिकाले कृषि र सडक सञ्जाल बिस्तारलाई प्राथमिकता दिएको छ ।

नगरका प्रवक्ता भुलबहादुर कार्कीका अनुसार सबै किसानलाई सिँचाइको विद्युत महसुल निःशुल्क, एम्बुलेन्स र शव वाहन निःशुल्क, क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा, ८० वर्ष उमेर माथिकालाई प्रति महिना एक हजार पोषण खर्च, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र सबै सरकारी विद्यालयको पुरानो जस्ता हटाई एउटैको जस्ता लगाइदिने कार्यक्रम सार्वजनिक गरिएको छ । नगरले फोहोर व्यवस्थापन र विपदमा जेसीवी निःशुल्क प्रयोग गर्न दिने भएको छ ।

मिक्लाजुङमा कृषि र पशुपालनलाई प्राथमिकता

यस्तै, उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाले ७७ करोड ५० लाख ७५ हजार पाँच रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बजेटको ४३ करोड ६ लाख १९ हजार रुपियाँ चालु खर्चमा र ३४ करोड ४४ लाख ५६ हजार ५०० रुपियाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ ।

पालिकाको १४ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै  उपाध्यक्ष दिनेश पौडेलले कृषि तर्फ ५५ लाख ५७ हजार पाँच सय रुपियाँ खर्च गर्ने र पशुपालन तर्फ २९ लाख रुपियाँ खर्च गर्ने प्रस्ताव गर्नुभयो ।