• १२ साउन २०८१, शनिबार

नेपालगन्ज उपमहानगरको बजेट घट्दो क्रममा

blog

उपप्रमुख कमरुद्दीन राई नेपालगन्ज उपमहानगरको १५ औं नगरसभामा बजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार १० गते ।
पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो । तर आगामी आर्थिक २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपियाँको आय व्यव प्रस्तुत गरिएको छ ।

गत तीन आर्थिक वर्षमा लगातार नेपालगन्जको बजेट घट्दै गएको देखिएको छ । आगामी आर्थिक २०८१/०८२ का लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३५ करोड रुपियाँ कम रहेको छ ।

नोपलगन्ज उपमहानगरको सोमबार सुरु भएको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गर्नुभयो ।

उपमहानगरलाई सङ्घीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत २७ करोड ९५ लाख, राजस्व बाँडफाँटबाट १९ करोड ११ लाख ३३ हजार, समपूरक अनुदान एक करोड प्राप्त हुने जनाइएको छ ।

यसैगरी, विशेष अनुदान एक करोड ५० लाख, सशर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण दुई करोड ५ लाख २१ हजार, राजस्व बाँडफाँट एक करोड ४३ लाख २६ हजार, समपूरक अनुदान एक करोड ४० लाख र विशेष अनुदान एक करोड ५० लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताउनुभयो ।

यसैगरी, घरजग्गा रजिस्ट्रेसनबाट ११ करोड, आन्तरिक स्रोतबाट २० करोड ११ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात एक करोड ५० लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

यसअघि सो १५ औं नगरसभामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नगरसभाका सदस्य तथा वडा अध्यक्षहरु गोपाल पुन, कौशल कुमार धोबी, दिपक बर्मा, राज कुमार साहु, प्रमोद रिजाल र उपमहानगरका कार्यकारी प्रमुख ओम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।