• १६ भदौ २०८१, आइतबार

खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण गरिने

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार १० गते । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो । 

कृषि उत्पादनको बजारीकरणको जिम्मा रसिलो एग्रीकल्चर नेपाल भक्तपुरले लिएको छ । केही दिन अघि गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र उपाध्यक्ष सुशीला तामाङको रोहवरमा रसिलो नेपालका अध्यक्ष जितेन्द्र बानियाले खिजीदेम्बाका किसानको तर्फबाट आङदेण्डी शेर्पासँग खिजीदेम्बामा उत्पादित कृषि उपजको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणका लागि दोहोरो सम्झौता गर्नुभएको छ । सम्झौता अनुसार परिमाणको आधारमा आलु, मकै, डल्ले मुलाको सिन्की, सिमी, कोदो, गहुँ, फापर (तिते, मिठे) जौ, उवा, राजमा, अकबरे खुर्सानी, जिरे खुर्सानी रसिलो नेपालले खरिद गर्नेछ । 

यसका साथै मूल्यको आधारमा यार्माङ, सिस्नु, भटमास, सिमी, रातो मकै, फल्की, केराउ, लसुन, अदुवा, बेसार, चिया, मास, रहर, स्याउ, जरिङ्गो साग, गुन्द्रुक, सिन्की, रायो साग, पिँडालुको सिन्की, सुकेको बेसार र उवाको चम्बा खरिद गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गरिने नेपालका अध्यक्ष बानियाले बताउनुभयो । सम्झौता अनुसार किसानले आफ्नो उत्पादन अर्गानिक तरिकाले उत्पादन गर्नुपर्नेछ । 

कृषि र पर्यटनमार्फत समृद्ध गाउँपालिका बनाउने उद्देश्य अनुसार गाउँपालिकाको कृषि उत्पादनलाई अर्गानिक प्रमाणीकरण गरी बजारीकरण गरिने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । कृषि उपजलाई बजारीकरणका लागि गाउँपालिकाको लागो अङ्कित स्टिकर र बोराको व्यवस्था पालिकामार्फत गरिएको अध्यक्ष शेर्पाको भनाइ छ । कृषि उत्पादनको ब्राण्डिङ र बजारीकरण गर्ने योजना अनुरुप रसिलो नेपालसँग दोहोरो सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष शेर्पाले बताउनुभयो । 

गाउँको उत्पादनले अब बजार पाउने र किसानको आर्थिक समृद्धि हुने अध्यक्ष शेर्पाको भनाइ छ । रेस्क्यु नेपालको अगुवाइमा खिजीदेम्बाका १८ जना किसानलाई सात दिने उद्यमशीलता तालिम दिएर किसानले सामूहिक उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने गरी तालिम समापनको अवसरमा किसान र रसिलो नेपालबिच  सम्झौतामा दोहोरो हस्ताक्षर गरिएको हो । 

रेस्क्यु नेपालले खिजिदेम्बाका किसानका लागि उद्यमशीलता तालिम र बजारीकरणका लागि निरन्तर पैरवी गर्दै आएको रेस्क्यु नेपालका संयोजक तिमोथी गुरुङले बताउनुभयो ।