दार्चुला समाचारदाता
दार्चुला, वैशाख १६ गते । अपिनाम्पा संरक्षण क्षेत्र तीन वर्षदेखि परिषद्विहीन छ । २०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन ।परिषद् गठनका लागि धेरै पटक राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।
परिषद् गठनसम्बन्धी ऐन निर्माणमा ढिलाइ हुँदा कार्यालयलाई प्रत्यक्ष जनताको काम गर्नमा समस्या भएको छ । परिषद् नहुँदा अहिले सबै काम कार्यालयले गर्नुपरेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
सरकारले नेपाल–चीन–भारत सीमावर्ती क्षेत्रको नेपाली भू–भाग तथा वनजङ्गल र वन्यजन्तुको संरक्षण गर्न संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्रलाई अझै व्यवस्थित गर्न अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन गरिएको थियो ।
परिषद्को पहिलो पाँचवर्षीय कार्यकाल २०७६ सालमै सकिएको भए पनि त्यसयता परिषद् गठन हुन सकेको छैन । भारत र चीनसँग सीमा जोडिएको एक हजार ९०३ वर्ग किलोमिटर फराकिलो उक्त क्षेत्रलाई संरक्षित क्षेत्रमा समेटिएको छ । परिषद् भयो भने संरक्षण क्षेत्रलाई अझै थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने कर्मचारी बताउँछन् । स्थानीय तहको प्रतिनिधित्वको विषयमा राजनीतिक सहमति हुन नसक्दा परिषद् गठन हुन नसकेको नेता बताउँछन् ।
विगतमा साविकको घुसा, खण्डेश्वरी, व्यासलगायत गाविसलाई कोर गाविसभित्र राखिएको थियो । स्रोत साधनका हिसाबले यो क्षेत्रको अग्राधिकार बढी थियो । अहिले स्थानीय तह भएपछि यसलाई व्यवस्थापनको विषयमा जटिलता आएको नेता बताउँछन् ।
जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीको अध्यक्षतामा पटक–पटक बैठक बसेर सहमति गराउने प्रयास भए पनि सहमति जुट्न नसकेको बताइएको छ । संरक्षण क्षेत्रभित्र अपि हिमाल, मार्मा, नौगाड, दुहुँ, व्यास गाउँपालिका र महाकाली नगरपालिका पर्छन् । त्यसमा स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलबीच भएका छलफलले मूर्त रूप लिन नसकेपछि अहिलेसम्म परिषद् गठनकार्य अघि बढ्न नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।
संरक्षण क्षेत्रको व्यवस्थापन र प्रभावकारी कार्यान्वयनका लागि परिषद् आवश्यक भएको अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष चक्रसिंह ह्याकीको भनाइ छ ।
“हाम्रो वडा टोलसम्मै समिति थियो, चोरीसिकारी नियन्त्रणदेखि संरक्षणमा समितिले ध्यान दिएको थियो,” उहाँले भन्नुभयो, “तर अहिले परिषद् नै नभएपछि सबै समूह समिति निष्क्रिय भएका छन् ।”
सात हजार १३१ मिटर उचाइमा रहेको अपि हिमाल, छ हजार ७५७ मिटरको नाम्पा र छ हजार ६७० मिटर अग्लो व्यास हिमाल अपिनाम्पा संरक्षण क्षेत्रभित्रै पर्छन् । दर्जनौँ प्रजातिका जनावर, चराचुरुङ्गीको बासस्थान रहेको संरक्षण क्षेत्रमा पर्यटनका थुप्रै सम्भावना देखिएका छन् ।
प्रचारप्रसार, सडक र भौतिक संरचना विस्तार हुन सके पर्यटकीय गन्तव्यका रूपमा पनि यो क्षेत्र निकै महत्त्वपूर्ण छ । चीनको मानसरोवर जाने धार्मिक पर्यटकका लागि पनि प्राकृतिक सम्पदा र हिमाल आकर्षक केन्द्रका रूपमा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।