• १२ साउन २०८१, शनिबार

सूचना टाँस गरेर बागमती प्रदेश सभा बैठक स्थगित

blog

बागमती प्रदेश सभाको सचिवालय । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार ७ गते ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बजेटमाथि छलफल गर्ने कार्य सूची रहेको शुक्रबारको प्रदेश सभाको बैठक दोस्रो पटक पनि सूचना टाँस गरेर स्थगित गरेको हो ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका बारेमा दलहरुबिच सहमति नजुटेपछि दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सभाका सचिव कृष्णहरि खड्काले विशेष कारणबश ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको जनाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा त्रुटि रहेको भन्दै पुनर्लेखन नगरेसम्म प्रदेश सभा चल्न नदिने अडान लिएपछि प्रदेश सभाको बिहीबारको बैठक अवरुद्ध बनेको थियो ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिला गरी दिउँसो १ बजे सुरु भएकोमा कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख पाठकले कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामालाई बोल्न दिनुभयो ।

कांग्रेस नेता लामाले प्रदेश सरकारले आगामी आवका लागि ल्याएको बजेट लेखन तारतम्य नमिलेको र बजेट कार्यान्वयनमा सुशासन कायम गर्नुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले आफैँले असन्तुलित र मर्यादा नाघेर ल्याएकाले बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्नुभयो ।

कांग्रेसको अवरोधका कारण बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएपछि सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर अझै बैठक बस्न सकेको छैन ।

सहमति जुटाउन सर्वदलीय बैठक बस्ने भनिए पनि ढिलो गरी बैठक सुरु भएकाले प्रदेश सभाको बैठक समेत प्रभावित भएको छ । बजेटमा देखिएको समस्याका बारेमा सहमति जुटाउन हाल मुख्यमन्त्री कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।