• १२ साउन २०८१, शनिबार

ढुवानी अनुदानले प्याज बिक्रीमा सहज

blog

स्वामिकार्तिक खापर गाउँपालिका १ बाहुनीका किसानले उत्पादन गरेको अर्गानिक प्याज । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असार ७ गते ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ ।

गाउँपालिकाले यहाँका किसानको बारिबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज बनाएको हो ।

ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको  स्वामिकार्तिक गाउँपालिका वडा नं. –१ बाहुनीका कृषक बिरभाने विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।”

गाउँमा उत्पादन भएको प्याजले कतै बजार नपाउँदा सड्ने हो कि भन्ने चिन्ता पसेको थियो । अहिले गाउँपालिकाको ढुवानी अनुदानमा यो प्याज बजारमा पुर्‍याएसँगै धमाधम बिक्री हुनथालेपछि निकै हर्षित भएको विकले बताउनुभयो ।

जिल्लाकै दुर्गम बस्ती भनेर चिनिँदै आएको बाहुनीका किसान पछिल्लो समय प्याज उत्पादनमा लागिपरेका छन् ।

अन्नबालीभन्दा प्याजले यहाँका किसानलाई जीविकोपार्जन गर्न सहज देखिएपछि पछिल्लो समय यहाँका किसान प्याज उत्पादनमा लागिपरेका हुन् ।

आर्थिक अवस्था मजबुत गर्ने गरी गाउँपालिकाले पछिल्लो समय यहाँका किसानलाई कृषिमा उत्प्रेरित गर्दै आएपछि अहिले उनीहरु कृषिक्षेत्रमा लागिपरेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि  प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँका किसानले अन्नबाली लगाउने गर्थे त्यसले उनीहरुलाई दु महिना पनि खान पुग्दैनथ्यो । अहिले प्याजखेती गर्न थालेपछि उनीहरुलाई खान पुगेको छ ।”

बाहुनीमा प्याज राम्रो उत्पादन हुन थालेपछि पछिल्लो समय यहाँका किसानको प्याजखेतीमा निकै आकर्षण बढ्दै गएको बुढाले बताउनुभयो ।

जीविकोपार्जनमा सहज हुने गरी पछिल्लो समय बाहुनीका स्थानीयलाई प्याज उत्पानमा उत्प्रेरित गर्दै आएको  स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुयभयो , “बाहुनीका किसानले यो वर्ष झण्डै एक टन प्याज उत्पादन गरेका हुन् । उनीहरुले उत्पादन गरेको त्यो सबै प्याज अहिले ढुवानी अनुदान सहयोगमा पीलिचौर, सुर्खेत र नेपालगञ्जलगायतका विभिन्न बजारमा बिक्री वितरण भइरहेको छ । ”

गाउँपालिकाले पछिल्लो समय यहाँका कृषकलाई अर्गानिक खेती उत्पादनमा जोड दिएसँगै अहिले यहाँका किसान तरकारी उत्पादनमा निकै सक्रिय भएका छन् । अहिले यहाँ उत्पादन भएको वस्तु देशका विभिन्न बजारमा बिक्री भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो ।