• १४ असार २०८१, शुक्रबार

आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिता : अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो

blog

काठमाडौँ, असार ७ गते । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अस्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाउनुभएको थियो । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाउनुभयो ।

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाउनुभएको हो । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाउनुभयो ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिनुभयो भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिनुभयो । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच खेल हुनेछ । रासस