• १३ साउन २०८१, आइतबार

माओवादी केन्द्रको कारबाहीविरुद्ध गण्डकीका सांसदद्वारा सर्वोच्चमा रिट

blog

काठमाडौँ, असार ६ गते । नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

ह्विप उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध सांसद देवकोटाले बिहीबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

देवकोटाले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गर्नुभएको छ ।

सांसद देवकोटाद्वारा दायर रिटमा भनिएको छ, ‘‘नेपाल समाजवादी पार्टीको प्रदेश सभा सदस्यको हैसियतले कार्य गर्न दिनु भनी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी मौलिक र कानुनी हक प्रचलन गरी न्याय दिलाई पाऊँ ।’’

यसैगरी, उहाँले रिटको अन्तिम टुङ्गो नलागेसम्म प्रदेश सभा सदस्यको हैसियतमा पूर्ववत कामकाज गर्न कुनै अवरोध नगर्नू, कामकाज गर्न दिनू भनी सर्वोच्च अदालत नियमावलीअनुसार अन्तरिम आदेश जारी गर्न माग गर्नुभएको छ ।

जेठ २८ गते माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको थियो ।

त्यसपछि माओवादी केन्द्रले देवकोटालाई ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त हुनुभएको थियो ।