• १३ साउन २०८१, आइतबार

श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान

blog

फाइल तस्बिर

चितवन, असार ६ गते । श्री एयरलाइन्सले आज काठमाडौँ-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो ।

एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो । अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताउनुभयो । 

उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा चार हजार सात सयभन्दा माथि छ । यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटर मात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उहाँले जानकारी दिनुभयो । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उहाँको छ । 

जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुआतदेखि निरन्तर लागि रहनुभएका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिनुभयो । पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताउनुभयो । 

उहाँले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताउनुभयो । महानगर प्रमुख दाहालले आफू पहिलो पटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिनुभयो । उहाँले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताउनुभयो । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताउनुभयो । आउँदो जनवरीसम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उहाँले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उहाँले बताउनुभयो । रासस