• १३ साउन २०८१, आइतबार

डुडुवाका ३० घर जलेर नष्ट

blog

आगलागीबाट जलेर खरानी भएको डुडुवा १ को बस्ती । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ६ गते । बुधबार राती एक्कासि आएको हावाहुरीले बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा सो गाउँका ३० भन्दा बढी घर जलेर खरानी भएकाे छ । 

स्थानीय पप्पु यादवले दिनुभएको जानकारी अनुसार बुधबार राती करिब साढे आठ बजे एक्कासि आएको भीषण हावाहुरीले गर्दा आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३० घर जलेर खरानी भएको हो । उहाँले आगलागी भएलगत्तै नेपालगन्जमा वारुणयन्त्रलाई जानकारी गराउँदा केही समयमा दमकल गाउँ नजिक पुगे पनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको बताउनुभयो । 

दमकल गाउँमा छिर्न नसकेपछि प्रहरी र स्थानीयले आगो निभाउन निकै प्रयास गरे पनि अधिकांश घरहरु जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका स्वयंसेवक राम मनोहर यादवले बताउनुभयो । उहाँले आगलागीबाट ३० भन्दा बढी परिवार घरबारविहीन भएको जनाउँदै उनिहरुलाई नजिकैको विद्यालयमा राखिएको बताउनुभयो । 

राप्ती नदीको छेउमा रहेको सो गाउँमा हरेक वर्ष बाढीले ठुलो क्षति पुर्‍याउँदै आएकोमा यस पटक बाढी आउनुभन्दा पहिले नै आगलागीबाट सबै जलेर नष्ट भएको अर्का स्थानीय तिलक यादवले बताउनुभयो । आगलागीको खबर सुनेर लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा डुडुवा निवासी भण्डारीलाल यादव तथा पूर्व कृषि मन्त्री विजय यादवलगायत बिहीबार सो गाउँमा पुग्नुभएको छ । 

उहाँहरुले स्थानीय पीडितहरुसँग भेटेर आगलागीको क्षतिबारे जानकारी लिनुका साथै राहातको व्यवस्था गरिने बताउनुभएको स्थानीय बिशेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार अहिले क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ भने आगलागीबाट धेरै ठुलो परिमाणमा खाद्यान्न, लुगा लत्ता, भाँडा बर्तन, नगद र गरहना जलेको छ ।