• १२ असार २०८१, बुधबार

विद्यार्थी बेहाेस हुन थालेपछि आठबिसकोटका विद्यालय बन्द

blog

राजु लामिछाने
रुकुमपश्चिम, असार ४ गते । 
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाभित्रका विद्यालयहरू बन्द गरिएको छ । केही दिन यता विद्यार्थीहरू एक्कासि बेहाेस हुने, छट्पटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार भोली असार ५ देखि ९ गतेसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय भएको हो । नगर प्रमुख रबी केसीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पाँच दिन पठनपाठन स्थगन गर्ने निर्णय गरेको हो । मीन पचास बिदाबाट बिदा कट्टी हुनेगरी नियमित पठनपाठन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीको कारण विद्यार्थीहरू बिरामी भएको विद्यालयले जानकारी दिएका छन् । नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टका अनुसार केही दिन यता वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८–१० जना विद्यार्थीहरूमा विद्यालयमै एक्कासि बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो । त्यसैगरी वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू बिरामी हुन थालेका थिए ।

विद्यार्थीहरू बिरामी हुने क्रम नरोकिएपछि र बिरामी हुने दर बढ्न थालेपछि आकस्मिक बैठक बसेर नियमित पठनपाठन स्थगित गरिएको हो ।