• १२ असार २०८१, बुधबार

तनहुँमा चार लेनको पुल निर्माण हुँदै

blog

मादीनदीमा बन्दै गरेको पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार ४ गते । तनहुँमा चार लेनको पुल निर्माण कार्य भइरहेको छ । नेपालमै पहिलो पटक पृथ्वीराजमार्गको सबैभन्दा लामो मादी नदी पुल निर्माण भइरहेको छ । 

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण कार्य धमाधम भइरहेको छ । पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर श्यामकुमार यादवले नेपालमै पहिलो पटक चार लेनको पुल मादी नदीमाथि बन्न लागेको हो । 

पर्यटकलाई आकर्षण गर्ने हिसाबले कलात्मक आर्क डिजाइन गरिएको बताउनुभयो । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएका यादव बताउनुहुन्छ । पुल तीन वर्षभित्र निर्माण पुरा हुनेछ । यस पुलले व्यास नगरपालिको वडा नम्बर ४ दमौलीको र वडा नम्बर ५ को चापाघाट जोडेको छ । 

निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको र हालसम्म ३० प्रतिशत सकिएको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । यस पुलले व्यास नगरपालिको वडा नम्बर ४ दमौलीको र वडा नम्बर ५ को चापाघाट जोडेको छ ।

परामर्शदाता इन्जिनियर रञ्जित यादवले काम छिटो पुरा गर्न रातको समयमा समेत काम भइरहेको जानकारी दिनुभयो । यादवका अनुसार कामदार एक सय २० जना र कर्मचारी ३० जना गरी एक सय ५० दैनिक कामका खटिएका छन् । रातको समयमा ३० जनाले काम गरिरहेका छन् । 

मादी नदीमा एक अर्ब २१ करोड रुपियाँको लगानीमा बन्ने पुलको छ वटा स्पान हुने आयोजनाले जनाएको छ । हाल दुई लेनको पुल तीन सय ७० मिटर छ । अब बन्ने पुल भने चार लेनको तीन सय १८ मिटरको हुनेछ ।

८१ किलोमिटर लम्बाई रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो । अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ। पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन-जामुने) को लम्बाइ ४१.४५ किलोमिटर र पश्चिम खण्ड (जामुन-पोखरा) को लम्बाइ ३९.५५ किलोमिटर छ । 


पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो । यस खण्डको म्याद वैशाखमा सकिएपछि यसको म्याद एक सय ५५ दिन थपिएको छ । पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ । यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने पश्चिम खण्डको निर्माण जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई दिइएको छ । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ । एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ ।