• १२ असार २०८१, बुधबार

सर्पदंश उपचार केन्द्रलाई निःशुल्क औषधी

blog

गौरीडाँडास्थित सर्पदंश उपचारलाई निशुल्क औषधी हस्तान्तरण गरिँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, असार ३ गते । सर्पदंशका बिरामीको उपचारमा सहयोग पुर्‍याउन बर्दिबास ३ स्थित वडा कार्यालयले निःशुल्क औषधी उपलब्ध गराएको छ । वडाध्यक्ष विराट विष्टले बर्दिबास ३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटालाई उपचारका लागि आवश्यक १४ प्रकारको औषधी सोमबार हस्तान्तरण गर्नुभएको हो । 

औषधी हस्तान्तरणका क्रममा विष्टले वडा नं ३ का १६ हजार जनतालाई सर्पदशंको निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले औषधी सहयोग गरेको बताउनुभयो । अहिलेलाई करिब ३१ हजार मूल्य बराबरका औषधी उपलब्ध गराए पनि यो सहयोगले निरन्तरता पाउने उहाँको भनाइ छ । 

वडाध्यक्ष विष्टले भन्नुभयो, ‘म्याद गुज्रेला भनेर अहिलेलाई तीस ३१ हजारका औषधी मात्र दिएको हो । यो सुरुवात हो । सकियो भने वडा कार्यालयले उपलब्ध गराउँदै जाने छ ।’

स्थापना कालदेखि देश विदेशका हजारौँ बिरामीको सफल उपचार गर्दै आएपनि सधैँ उपेक्षामा परेको गौरीडाँडा सर्पदंश उपचार केन्द्रले सहयोगका लागि तीनै तहका सरकारलाई झकझकाउँदै रहनुपर्ने विष्टको भनाइ थियो । 

केन्द्रका अध्यक्ष देवकोटाले आर्थिक सङ्कटका कारण अनेकन् समस्या बेहोर्दै आएको गौरीडाँडा सर्पदंश उपचारका लागि वडाबाट प्राप्त निःशुल्क औषधी प्राणवायु सरह भएको बताउनुभयो । देवकोटाका अनुसार आर्थिक वर्ष ०७१÷७२ देखि गएको जेठ महिनासम्म २९ हजार ९८ जना सर्पदंश र ९०३ जना खजुरो तथा बिच्छीले टोकेको गरी ३ हजार १ जनाको उपचार गरी सकेको यो उपचार केन्द्रमा समस्याका चाङ छन् । 

मासिक खर्च नै ३५ हजार बढी लाग्छ । सर्पदंशको उपचारमा ४८ प्रकारका औषधी आवश्यक हुन्छन् । एन्टी स्नेक भेनम बाहेकका ४७ प्रकारका औषधी उपचार केन्द्रले किन्नु पर्छ। बत्ती, पानी, परिचर, उपचार सामग्री सबै गरेर वर्षको ८-९ लाख खर्च हुन्छ । सहयोग कतैबाट नभएको उहाँले पीडा पोख्नुभयो । 

"समस्या मात्र रहेको उपचार केन्द्रलाई वडाध्यक्षले गर्नुभएको औषधी सहयोगले राहत अनुभूति भएको छ," उहाँले भन्नुभयो । भारतको सीतामढी जिल्ला देखि पहाडी भेग दोलखा, रामेछाप, सिन्धुली र तराईका महोत्तरी, धनुषा, सलाहीदेखिका सर्पदंशका बिरामीको भिड रहने यस उपचार केन्द्रमा नेपाली सेनाका ६ जनाले २४ घण्टे सेवा दिँदै आएको यो उपचार केन्द्र जेनतेन चलि रहेको यर्थाथ अवगत गराउनुभयो । 

यसबाहेक कसैले एक पैसाको योगदान गरेको छैन । सबैभन्दा बढी बिरामी आउने छिमेकका स्थानीय तहलाई सहयोगका लागि औपचारिक आग्रह गर्दा पनि कुनै वास्ता न गरेको उहाँले पीडा पोख्नुभयो । राम भरोसे चलिरहेको यो उपचार केन्द्रलाई वडा कार्यालयबाट सुरु भएको सहयोगले आशाको सञ्चार गरेको छ’ केन्द्रका अध्यक्ष देवकोटाले भावना पोख्नुभयो ।