• १२ असार २०८१, बुधबार

नयाँ डाँक रेखाको प्रस्ताव

blog

सुर्खेत समाचारदाता

सुर्खेत, असार ३ गते । हुलाक कार्यालयमा प्राप्त हुने चिठीपत्र छिटोछरितो रूपमा सम्बन्धित निकायमा पु¥याउनका लागि नयाँ डाँक रेखाको प्रस्ताव गरिएको छ । 

हुलाक निर्देशनालय सुर्खेतले जिल्लाभित्र पु¥याइने चिठीपत्र तथा महत्वपूर्ण सामग्रीलाई समयमै निर्धारित ठाउँमा पु¥याउन सात वटा नयाँ डाँक रेखाको प्रस्ताव गरिएको हो । 

आइतबार निर्देशनालयले डाँक रेखा कार्यान्वयनसम्बन्धी एक कार्यक्रम गरी सुर्खेतका नयाँ डाँक रेखा प्रस्ताव सार्वजनिक गरेको छ । निर्देशनालयका शाखा अधिकृत सुनिताकुमारी खत्रीले सुर्खेतका सात वटै पालिका केन्द्रलाई आधार बनाएर निर्माण गरिएको बताउनुभयो । वीरेन्द्रनगर–भेरीगङ्गा–कोहलपुर–बाँके, भेरीगङ्गा–गुर्भाकोट–वनगाड कुपिण्डे (सल्यान)–सिम्ता–छेडागाड–जाजरकोट, गुर्भाकोट–कालीमाटी (सल्यान) र वीरेन्द्रनगर–वराहताल–आठबिस (दैलेख)–कालीकोट–जुम्लालाई समेटेर नयाँ डाँक रेखा प्रस्ताव गरिएको छ । 

यसै गरी वराहताल–पञ्चपुरी–चौकुने, वीरेन्द्रनगर–गुराँस (दैलेख)–दैलेख बजार र वीरेन्द्रनगर–चिगाडलाई पनि नयाँ डाँक रेखा प्रस्ताव गरिएको शाखा अधिकृत खत्रीले बताउनुभयो । आगामी साउनदेखि इलाका र अतिरिक्त हुलाक कार्यालय नरहने व्यवस्था भएको हुँदा अब पालिकास्तरमा पालिका हुलाक कार्यालय रहने छन् । 

विगतमा डाँक रेखाका कारण चिठीपत्र तथा सामान पु¥याउँदा निकै ढिलो हुने गरेको, एकै ठाउँमा पटक पटक डाँक जानुपर्ने समस्या रहेकाले हुलाकको पुनर्संरचना अनुसार नयाँ डाँक रेखाको प्रस्ताव गरिएको उहाँको भनाइ छ । यातायातको साधन निरन्तर चल्नुपर्ने, पैदल डाँक ढुवानी हुने दुरी र आवश्यकता, पालिका जोड्ने डाँक रेखा, आफ्नै गाडीले डाँक ढुवानी गर्नका लागि डाँक रेखा पुनरवलोकन आवश्यक रहेको उहाँले बताउनुभयो । 

नयाँ डाँक रेखाका अनुसार हुलाकीलाई चिठीपत्र र सामान छिटो र छरितो रूपमा पु¥याउन सकिने, समयको बचत हुने, यातायातका साधन प्रयोग गर्न सकिने, एकै ठाउँमा पटक पटक जानु नपर्ने जस्ता सहजता हुने अपेक्षा गरिएको छ ।

 हुलाक विभागका निर्देशक लक्ष्मीदेवी हुमागाईंले हुलाकको सेवालाई पालिकासम्म छिटोछरितो, प्रतिस्पर्धी, मितव्ययी बनाउन हरेक जिल्लामा नयाँ डाँक रेखा तयार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले हुलाकको पुनर्संरचना अनुसार आगामी साउनदेखि अतिरिक्त हुलाक कार्यालय खारेज हुने, इलाका हुलाकलाई पालिका हुलाकमा परिणत गरिने भएकाले अब हरेक पालिकामा हुलाक कार्यालय रहने जानकारी दिनुभयो । 

विगतमा डाँक रेखा निकै पुरानो हुँदा सेवा प्रवाहमा ढिलाइ भएको, समय बढी लागेको जस्तो गुनासो आएकाले नयाँ डाँक रेखाले हुलाकको कामलाई छिटो बनाई जनताले विश्वास गर्न योग्य बनाउने अपेक्षा उहाँले गर्नुभएको छ । हुलाकको प्रमुख काम नै डाँक ढुवानी गर्ने भएकाले जतिसक्यो छिटो ढुवानी गर्नका लागि नयाँ डाँक रेखा बनाउने काम भएको निर्देशक हुमागाईंले बताउनुभयो । 

हुलाक निर्देशनालय सुर्खेतका प्रमुख रेखादेवी गौतमले नयाँ डाँक रेखा तयार गरिएकाले विभागले स्वीकृत गरेपछि लागु हुने बताउनुभयो । उहाँले यस रेखाबाट सेवा प्रवाह गर्दा हुलाकप्रति विश्वास बढ्ने दाबी गर्नुभयो । सुर्खेतका विभिन्न पालिकामा रहेका इलाका हुलाक कार्यालयका प्रतिनिधिले पनि निर्देशनालयले तयार गरेको नयाँ डाँक रेखाले पालिकास्तरबाट चिठीपत्र पठाउन निकै सहज हुने अपेक्षा व्यक्त गरेका छन् । 

यसका साथै हुलाकमा जनशक्तिको कमी भएको, सुगम र दुर्गमलाई एउटै विधिबाट मापन गर्न नहुने जस्ता गुनासो उनीहरूले गरेका थिए ।