• १२ असार २०८१, बुधबार

टी-२० विश्वकप : नेपाल बङ्गलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै

blog

फाइल तस्बिर ।

सेन्ट भिन्सेन्ट, असार ३ गते । टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अहिले टेस्ट टोली बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

किङ्सटाउनमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बङ्गलादेशलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो । 

विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाललाई बङ्गलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।

नेपाल यसअघि अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोसो खेल भारी वर्षाका कारण रद्द भएको थियो । 

नेपालका लागि आजको खेलमा गुमाउनुपर्ने केही छैन । यो खेल जितेमा नेपालले जारी विश्वकपमा बलियो टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।

बङ्गलादेशका लागि भने नेपालविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । सुपर आठमा पुग्ने सात टोलीको टुङ्गो लाग्दा समूह ‘डी’ बाट बङ्गलादेश र नेदरल्यान्ड्स दौडमा रहेका छन् ।

यस समूहमा अपराजित रहेको दक्षिण अफ्रिकाले यसअघिनै सुपर आठको यात्रा तय गरिसकेको थियो । आजै अर्को खेलमा नेदरल्यान्ड्स र श्रीलङ्का भिड्दैछन् । नेदरल्यान्ड्सलाई अगाडि बढ्न श्रीलङ्कालाई ठूलो अन्तरले हराउने पर्नेछ भने नेपालले समेत बङ्गलादेशलाई हराईदिनु पर्नेछ । 

नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी-२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो । 

अहिले समूह ‘डी’ मा अपराजित दक्षिण अफ्रिका चार खेलबाट आठ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिका नेपालविरुद्धको खेलअघि नै सुपर आठमा पुगिसकेको थियो । 

दोस्रो स्थानमा रहेको बङ्गलादेशको तीन खेलबाट चार अङ्क छ । तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । नेपालको तीन खेलमा एक अङ्क छ । एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । सन् २०१४ को विश्वकप विजेता श्रीलङ्का पनि यस विश्वकपबाट बाहिरिसकेको छ ।