चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार ७ गते । चीनसँगको उत्तरी सीमा तातोपानी नाका जोड्ने लार्चामा नयाँ बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । गत असोज ११ र १२ गतेको भोटेकोशी नदीको भीषण बाढीले लार्चाको पुरानो बेलिब्रिज बगाएको थियो ।
पुरानो बेलिब्रिज बगाएपछि एक झण्डै एक वर्ष भोटेकोशी नदीमा ह्युमपाइप राखेर मालबाहक कन्टेनर र अन्य यातयातका साधान सञ्चालन गरिँदै आएको थियो । केही दिनअघि भोटेकोशी नदीको बाहव बढेसँगै उक्त ह्युमपाइप बगाएको थियो । ह्युमपाप्इप बगाएपछि करिब पाँच दिन कन्टेनर र अन्य यातयातका साधान पूर्ण रुपमा बन्द भएका थिए ।
भोटेकोशी नदीमाथि लार्चामा नयाँ बेलिब्रिज राखिएपछि अहिले कन्टेनर र अन्य सवारी साधान सञ्चालनमा आएका छन् । एक करोड ७० लाख बजेटमा ५४ मिटर लम्बाईको बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुरज मर्हजनले जानकारी दिनुभयो । सोवर्ण निर्माण सेवा र क्रियाटिभ कन्स्ट्रक्सन एण्ड सप्लार्यसले चैत १५ गतेबाट उक्त बेलिब्रिज जडान कार्य सुरु गरेका थिए । भोटेकोशी गाउँपालिका वडा नं. २, ३ र ४ को एक मात्र मार्गस्थित मोटेरबल पुलको फुल्पिङसाइडमा डेब्रिज पन्छाएर जग बनाई नयाँ बेलिब्रिज जडान गरिएको हो ।
सो बेलिब्रिज सञ्चालनमा आएसँगै २६ किलोमिटर दूरी रहेको बाह्रबिसे–कोदारी लोकमार्गस्थित पहिरोले क्षतिग्रस्त सडक चार दिनपछि सञ्चालनमा आएको छ । उक्त सडकखण्डको कोदारी(इको) खण्डमा पाँच मिटर सडक भासिएको थियो । बिहीबार बेलुकीसम्म उक्त सडकखण्डको खोकुण्डोल र कोप्लाङखण्ड १५ फिट भासिएको थियो । उक्त सडकखण्ड भासिएपछि तातोपानी नाका बन्द भएको थियो । सडक डिभिजन कार्यालयले दुई वटा स्काभेटर प्रयोग गरेर अवरुद्ध सडक खुलाउँदै आएको छ । तातोपानी नाकास्थित सडकहरु माथिबाट पहिरो आउने र तलबाट भोटेकोशी नदीले तान्ने हुदाँ सडक अवरुद्ध हुदै आउने गरेको छ ।