गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ७ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका स्थानको उपनिर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेका एक/एक सदस्य पदको निर्वाचन कात्तिक दोस्रो साता गर्ने प्रस्ताव गरेको हो ।
परामर्शमा सहभागी निर्वाचन आयुक्त सगुनशमशेर जबराका अनुसार प्रतिनिधि सभातर्फ रिक्त रहेको रुपन्देही–३ र गण्डकी प्रदेश सभाको मनाङ १ (२) मा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्रीसँग आयोगले छलफल गरेको हो । आयोगका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीसँग शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा परामर्श गरेकोे थियो ।