• ११ असार २०८१, मङ्गलबार

घरेलु हिंसाका घटनामा कमी

blog

अर्जुन काफ्ले

स्याङ्जा, असार २ गते । धेरै जिल्लामा घरेलु हिंसा बढिरहँदा स्याङ्जामा भने कम हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटनाका दर्ता कम देखिएको हो । 

चालु आर्थिक वर्ष २०८०–८१ सकिन एक महिना बाँकी रहँदा जिल्लामा जम्मा २३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गत वर्षभन्दा यो वर्ष अहिलेसम्म आधाभन्दा कम घटना दर्ता भएको बताउनुभयो । 

यो आर्थिक वर्षको अहिलेसम्म प्रहरी कार्यालयमा दर्ता भएका घरेलु हिंसाका घटनामध्ये २१ जना महिला र २ जना पुरुष पीडित भएका छन् । दर्ता भएका घरेलु हिंसाका घटनामा २० मिलापत्र गरिएको दुई अदालती प्रक्रियामा गएको र एउटा घटनाको अनुसन्धान भइरहेको रानाले बताउनुभयो । घटनामा १५ कुटपिट, पाँच झैझगडा र तीन हेलाहोँचोका घटना रहेका छन् । 

गत आर्थिक वर्ष २०७९–८० मा जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाका घटना ६१ वटा दर्ता भएका थिए । ५७ महिला र चार जना पुरुष घरेलु हिंसामा परेका थिए भने ५० वटा मिलापत्र गरिएको थियो । ११ वटा घटना अदालती प्रक्रियामा लगिएको थियो । 

गत वर्ष दर्ता भएका ६१ घरेलु हिंसामध्ये १७ वटा कुटपिटको, २९ झैझगडा र १५ हेलाँहोचोका घटना छन् । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयका मातहतमा रहेका प्रहरी चौकीले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका कारण पनि घरेलु हिंसा कम हुँदैगएको रानाले बताउनुभयो । 

२०७४ को स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षकै संयोजकत्वमा न्यायिक समिति गठन गर्ने र आफ्ना स्थानीय तहमा हुने घटना न्यायिक समितिले हेर्ने प्रावधान भएका घटनालाई स्थानीय तहमै मिल्ने गरेका छन् । 

यस्तै, गत वर्षभन्दा यो वर्ष मानिस हराएको घटना पनि कम देखिएको छ । यो वर्षको अहिलेसम्म ८८ निवेदन परेका छन् । गतवर्ष मानिस हराएको निवेदन १६३ वटा दर्ता भएका थिए ।