• ४ साउन २०८१, शुक्रबार

गङ्गा दशहरामा दशरथ तलाउमा स्नान गर्नेको घुँइचो

blog

जनकपुरधास्थित दशरथ तलाउ (पोखरी) मा गंगा स्नान गर्नेहरुको भुँइचो । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असार २ गते । गंगा दशहराको अवसरमा जनकपुरधाम उपमहानगरपालिकास्थित दशरथ तलाउ (पोखरी) मा बिहानैदेखि स्नान गर्ने तिर्थालु भक्तजनहरुको घुँइचो लागेको  छ । 

हिन्दु धर्मावलम्बीका लागि गङ्गामातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधाम ८ मा अवस्थित दशरथ तलाउमा स्नान गर्ने भारतीय तथा स्थानीय तीर्थालु भक्तजनहरुले घुइँचो लागेको हो । 

आइतबार परेको जेठशुक्ल दशमी अर्थात् गंगा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा प्रत्येक वर्ष दशरथ पोखरीमा स्नान गर्ने दर्शनार्थीहरुको घुँइचो लाग्ने गरेको पाइन्छ । दशरथ तलाउमा स्नान गरी नजिकै रहेको दशरथ महाराजको पूजा अराधना गर्ने प्रचलन छ । यहाँ स्नान गर्नाले पुण्य प्राप्ति हुने मान्यताका भारत तथा नेपालका विभिन्न स्थानका भक्तजन यहाँ स्नान र दर्शन गर्न आउने गरेका छन् । 

दशहराको दिन दशरथ सरमा स्नान गर्नाले पुण्य मिल्ने विश्वासका साथ महोत्तरीको औरही नगरपालिकाबाट दशहरा स्नाथ गर्न जनकपुरधामको दशरथ तलाउमा आउनुभएका भक्तजन जगदीश साह भन्नुहुन्छ, “प्रत्येक वर्ष झैं यस वर्ष पनि यहाँ स्नान गरी दर्शन गर्न आएको हुँ ।” यहाँ स्नान गर्नाले पुण्य प्राप्ति मिल्ने विश्वासका साथ मेरै गाउँबाट पनि थुप्रा भक्तजनहरु आउनुभएको छ ।” दशरथ पोखरीमा स्नान गर्नाले पाप पखालिने र पुण्य प्राप्ति हुने विश्वास रहेको साह बताउनुहुन्छ । 

आजको दिन गङ्गा नदीमा स्नान अथवा गङ्गाजलले आफूलाई पवित्र बनाउँदा समेत दश प्रकारका पाप नाश हुने धार्मिक मान्यताका साथै आजकै दिन गंगा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास रहि आएको छ ।

पौराणिक कालका राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि गङ्गा नदीला पृथ्वीमा ल्याएको दिनको स्मरणमा गङ्गा दशहरा मनाउने गरिन्छ । तपस्या गरेर नदीलाई अनेकौँ प्रयास गरी आजकै दिन गङ्गालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ ।