• ९ असार २०८१, आइतबार

सेती बगरमा प्रतिस्थापन कला

blog

लेखनाथ समाचारदाता

लेखनाथ, असार २ गते । कतै लुक्दै, कतै झुल्किँदै बग्ने सेती नदी पोखरा महानगरको रामघाट क्षेत्रमा खुला भएर बग्छ । खुला भएकैले यहाँ नदीका दुवै तटमा घाट छन् । सेती किनारमा शनिबार फरक खालको चलहपहल थियो । किनारबाटै हिमाल र आसपासका डाँडाकाँडा देखिने र नदीको शिर र बहाव दुवैतिर खोँच भएको रामघाट बगरमा वातावरणीय प्रतिस्थापन कला निर्माण गरिँदै छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा सेती किनारमा प्रतिस्थापन कला बनाइने विभागीय प्रमुख सौरगङ्गा दर्शनाधारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शनिबार ठाउँ पहिचान गरेका छौँ । के बनाउने भन्ने सल्लाह गर्दै छौँ । सोमबार त्यहाँ कला बनाइसकेर प्रदर्शनीसमेत गर्छौं ।” उहाँले रङ, कुचीबिना नै वातावरणमै कला सिर्जना गर्न सकिन्छ भनी यो कला विकास भएको चर्चा गर्दै भन्नुभयो, “हाम्रा लागि क्यानभास र कुची पनि बगर नै हो । त्यहाँ भएको वातावरणकै उपयोग गरी कला सिर्जना गर्छौं ।” मूर्तिकला कार्यशालामा २० जना कलाकारको सहभागिता रहने र एक हप्तासम्म सञ्चालन हुने जनाइएको छ । यसै गरी शनिबारबाट सारङ्गी र गन्धर्वबाट परिचित पोखरा महानगरपालिका–१६ मा १० जनाले सारङ्गी बनाउने सिप सिक्दै छन् । नाफाको हस्तकला विभागद्वारा आयोजित तालिम सोमबारसम्म चल्ने छ । तालिममा सङ्गीतमा प्रयोग हुने व्यावसायिक खालका सारङ्गी नभएर उपहारमा दिइने साना खालका सारङ्गी बनाउन सिकाइँदै छ । बुद्ध गायकले सहभागीलाई सारङ्गी निर्माण कला सिकाउँदै हुनुहुन्छ ।

नाफाले गण्डकीका कलाकारलाई मूर्तिकलासमेत सिकाउँदै छ । नाफाका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सातदिने प्रशिक्षणमा मूर्तिकला सिर्जनादेखि फिनिसिङसम्मका आधारभूत सिप सिकाइने जानकारी दिनुभयो । प्रशिक्षणमा २० जना सहभागी छन् । प्राज्ञ बुद्धि गुरुङले पोखरामा कलाका अरू क्षेत्रको राम्रो विकास भएको भए पनि मूर्तिकलामा ध्यान नपुगेको बताउनुभयो । स्थानीय रूपमा सघाएको सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष डिबी गुरुङले यी प्रशिक्षणबाट मूर्तिकला र वातावरणीय प्रतिस्थापन कला सिक्न चाहने र भविष्य खोज्नेका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।