• ४ असार २०८१, मङ्गलबार

मकैको खोस्टाबाट हस्ताकलाको सामग्री

blog

मकैको खोस्टाबाट महिलाहरुले बनाएका हस्ताकलाका सामग्री । तस्बिर :गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असार १ गते  । 
गोरखा नगरपालिकाले महिलालाई मकैको खोस्टा बाट हस्ताकलाका सामग्री उत्पादन गर्ने सीप प्रदान गरेको छ । घरमा पालिएका गाई भैँसीलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाउन सिकाइएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुबेदीले जानकारी दिनुभयो ।  

गोरखा नगरपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा गोरखा नगरपालिका–१३ का महिलाहरूलाई एक महिने तालिम सञ्चालन गरेको थियो । वडा भित्रका सिक्न इच्छुक २५ जना महिलाहरूलाई आफनै गाउँ घरमा प्रशस्त रूपमा पाइने मकैको खोस्टामार्फत टोपी, ब्याग, ढकनी, कलश, टोकरी र ढकिया लगायतका विभिन्न सामग्री बनाउने सिप सिकाएको हो ।

गोरखा नगरपालिकाको उपप्रमुख सबलीकरण कार्यक्रममार्फत महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । कसैले दिएको नगद तथा सहयोग भन्दा सीप महत्त्वपूर्ण तथा चीर स्थायित्व हुने भएकाले सिकेको सीपलाई प्रयोग गर्न नगरप्रमुख राना मगरले आग्रह गर्नुभयो ।

अहिले गोरखा नगरपालिकाले योजना बनाएर उत्पादनका आधारमा मात्र अनुदान दिने नीति बनाएकाले सिकेको सीप सदुपयोग गरेर उत्पादन गर्नुस् त्यसको बजारीकरण गोरखा नगरपालिकाले गर्छ उहाँले भन्नुभयो ।

त्यस्तै महिला पनि सीप प्रयोग गरी स्वरोजगार भएर आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने कुरा प्रमाणित गर्न कार्यक्रम राखिएको नगर उपप्रमुख मसली माया थोकरले बताउनुभयो । सीप सिकेर स्वावलम्बी र उद्यमी बन्न पाउँदा नगरपालिका–१३ का महिलाहरू खुसी भएका छन् ।