• ४ असार २०८१, मङ्गलबार

मन्त्री भएको तीन दिनमै देवकोटा पदमुक्त

blog

पदमुक्त हुनुभएका सांसद फणीन्द्र देवकोटा ।

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ३२ गते । गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ । 

नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उहाँ पदमुक्त हुनुभएको हो ।

माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा शुक्रबार पठाएको थियो । सभामुख धितालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजित दल त्याग गरेको सूचना प्राप्त हुन आएकाले देवकोटा पदमक्त भएको जानकारी प्रदेश सभालाई दिनुभएको हो ।

सर्वाेच्च अदालतको जेठ १६ गतेको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले मङ्गलबार देवकोटालाई मन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा १६९ को १ ग बमोजिम संसद् नरहेपछि उहाँ पदमुक्त हुनुभएको छ । 

माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित उहाँले जेठ २८ गते माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का पोलिटब्युरो सदस्यसमेत रहनुभएका देवकोटा गोरखा २ (१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । देवकोटाले मत दिएपछि पाण्डे नेतृत्वको सरकार जोगिएको थियो । 

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन लडेका र निर्वाचित भएका सांसद समेत रहेर एउटै संसदीय दल गठन हुने व्यवस्था छ । त्यहाँ सचेतकले ह्विप लगाउन सक्ने व्यवस्था छ । ऐनको दफा २८ को उपदफा ३ ले सचेतकले ह्विप लगाउँदा पालना नगरे कारबाहीका लागि सम्बन्धित दलमा सिफारिस गर्ने व्यवस्था छ ।