• १३ साउन २०८१, आइतबार

काठमाडौंबासीलाई खानेपानी सङ्कट निम्तिदैँछ : सांसद सुवाल

blog

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल

काठमाडौँ, जेठ ३२ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ ।

मेलम्चीको पानीले काठमाडौँमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले उपत्यकावासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ थियो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था सङ्घीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने पनि बताउनुभयो ।

‘‘मेलम्चीको पानी अब काठमाडौँलाई पुग्दैन । याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन । यो ल्याउने कहिले हो ? २५ वर्ष लाग्यो मेलम्ची ल्याउन । निस्सासिएर काठमाडौँका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ । हामीले सुनिराखेका छौं–अबदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो ।,’’ सांसद  सुवालले भन्नुभयो, ‘‘फेरी असारबाट पानी आउँदैन भन्ने आएको छ । खानेपानीको स्रोत व्यवस्थापन सरकारले गर्ने तर वितरण स्थानीय तहलाई दिनुपर्छ । र देशभरी सुख्खा बढिरहेको हुँदा पानी पुरणभरणको बन्दोबस्त गर्ने । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउने, देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गर्ने र काठमाडौँको सुविधा उपत्यका बाहिर गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्ने ।’’

उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । देशभर सुख्खा बढिरहेको उल्लेख गर्नुहुँदै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।