• १३ साउन २०८१, आइतबार

नालामा पुरिएर तीन महिलाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, जेठ ३१ गते । नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र चमेली दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्र्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

कावासोती नगरपालिका ३ फलफूल चोकमा नगरपालिकाद्वारा ढल निकासिको हुमपाइप राख्न बनाउँदै गरेको निर्माणाधीन नालामा काम गर्ने क्रममा पुरिएर मजदुरको ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ । 

काम गर्नेक्रममा सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खसेपछि ३ जना महिला खाल्डोमा पुरिएका थिए । तत्काल २ जना महिलालाई उद्धारगरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा डाक्टरले दुई जनालाई मृत घोषण गरेका थिए । पुरिएर बेपत्ता भएकी अर्की एक महिलाको पनि मृत्यु भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।   

घटनाको विरोधमा स्थानीय र मृतकका आफन्तले कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालविरुद्ध नारावाजी गर्दै घर घेराउ गरेका थिए । उनीहरुले नगरपालिकाको लापरवाहीले मजदुरको ज्यान गएको आरोप लगाएका छन् । वर्खामा कावासोती डुबान हुन सक्ने भन्दै त्यसको निकासका लागि नगरपालिकाले ठूला नाला खनेर राखेको छ ।