• ९ साउन २०८१, बुधबार

नेपाल र भारतको संस्कृतिलाई थप बलियो बनाउनु आवश्यक छ : नेता महर

blog

नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर ।

नयाँदिल्ली, जेठ ३१ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबिचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताउनुभएको छ।

नेपाली जनसम्पर्क समिति भारतले ४८औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औँल्याउनुभएको हो।

‘नेपाल–भारत देश दुई भए पनि हामीबिच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्छ’, उहाँले भन्नुभयो। 

कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल–भारतबिच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। 

इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उहाँले बताउनुभयो। 

‘हामीबिचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल–भारतबिच वर्षौँदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ।’ 

पहिले नेपालका युवा उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताउनुभयो। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबिचको सम्बन्ध थप बलियो हुने उहाँको भनाइ छ। 

नेपालको समृद्धि बिना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने उहाँको भनाइ छ। 

बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गर्नुभयो। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति छन्। त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।

त्यसैले जनसम्पर्क समितिबाट पार्टीमा र संसद्‍मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

सुनिता कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।