• १२ साउन २०८१, शनिबार

निरन्तरको प्रयासले नेतृत्व क्षमता बढ्ने विश्वास

blog

नेतृत्व क्षमता सुदृढीकरणमा सहभागी प्रदेश सभा सदस्यहरु ।

प्रकाशविक्रम शाह

धनगढी, जेठ ३० गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले निरन्तरको छलफलले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । 

धनगढीमा दुई दिनसम्म सञ्चालन भएको नेतृत्व क्षमता सुदृढीकरण कार्यक्रमका क्रममा उहाँहरूले सो धारणा राख्नुभएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले निरन्तरको छलफल र बोलिरहने बानीले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने धारणा राख्नुभयो ।

हामी सिक्ने चरणमा छौँ यस्ता कार्यक्रमले नेतृत्व क्षमता सुदृढीकरणमा सहयोग पुग्छ, प्रदेश सभा सदस्य जुना दानीले भन्नुभयो, “हामीले मूलतः नीतिमा टेकेर बजेट ल्याउने विषय, विज्ञको सल्लाह लिने, पुँजी, प्रविधि, जनशक्तिअनुसार नीति र बजेटको तारतम्य मिलाउने कुरा सिक्न पाएका छौँ ।” 

उहाँले सरकारका गतिविधि र समसामयिक विषयमा अध्ययन गर्न जरुरी रहेको, मिडियासँग सम्बन्ध बनाउने र फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्ना धारणा राखेर सकारात्मक प्रभाव कसरी दिने भन्नेमा ध्यान दिनुपर्ने कुरा सिक्न पाएको बताउनुभयो ।

अर्का प्रदेश सभा सदस्य निर्मला साउँदले बजेटका राम्रा कुरा जनतालाई पुगाउने, बजेट तथा नीति, कार्यक्रममा बोल्ने र आफ्ना कुरा मिडियामा कसरी राख्ने भन्ने विषयमा ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले बोल्ने कुरामा डराउन नहुने र निरन्तरको बोलाइबाट आफ्नो बोलाइ सुधार हुने नयाँ अवधारण पनि सिकेको बताउनुभयो । 

प्रदेश सभा सदस्य गीता चौधरीले प्रदेश सभाका छलफल र मिडियामा बोल्दा प्रभाव पर्ने गरेर जिम्मेवार तरिकाले तयारीका साथ बोल्नु पर्ने कुरा सिक्न पाएको बताउनुभयो । हामी राजनीतिमा छौ सधैँ सिक्ने चरणमै हुन्छौ त्यसैले यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारका विना विभागीय मन्त्रीहरू लक्ष्मी विक, माया पन्त र हिरा सार्कीको सहभागिता थियो । संयुक्त राष्ट्र सङ्घको संसद् सहयोग परियोजनाको सहयोगमा फाया नेपाल कैलालीले महिला तथा सीमान्तकृत समुदायका प्रदेश सभा सदस्यको आफूहरूको नेतृत्व क्षमता सुदृढीकरण गर्न सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी र पत्रकार रुपेश श्रेष्ठले सहजीकरण गर्नुभयो ।