• १२ साउन २०८१, शनिबार

सिँचाइ सुविधाले बास्कोटका कृषक खुसी

blog

तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ ३० गते । छिमेकी गाउँ सल्यानको फाँट सिँचाइ सुविधाले हराभरा हुँदा यहाँका किसानहरूको खेत भने बाँझै हुन्थ्यो । खेती गर्न आकाशे पानीमा निर्भर हुनुपर्दथ्यो । ताजा तरकारी र खेतीबालीले हराभरा सल्यानको फाँट हेरेर बास्कोटवासीहरुले चित्त बुझाउँथे ।  

नजिकका फाँटहरू धानखेतीले हरियाली हुँदा बास्कोटका कृषकहरूको भने साउनको दोस्रो हप्तामात्र धान रोपाइँ सुरु हुन्थ्यो । वैशाख–जेठको खडेरीले लगायतको खेतीबाली सुकेर काम नलाग्ने हुन्थ्यो । अहिले भने पुर्जाखोलाको पानी फाँटमा ल्याएर सिँचाइ गर्न थालेपछि बास्कोटवासीको वर्षौँ देखिको सपना पुरा भएको छ ।  

गण्डकी प्रदेश सरकारले बास्कोटमा सिँचाइ सुविधा पुर्‍याउन दुई वर्षअघि करिब दुई करोड रुपियाँ विनियोजन गरिदिएपछि पुर्जाखोलाको पानी ल्याएर फाँटमा सिँचाइ गर्ने बास्कोटवासीको सपना पुरा भएको हो । बास्कोट म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा पर्दछ । सिँचाइ सुविधा भएपछि अहिले  बास्कोटको फाँट हराभरा भएको छ।  

पुर्जाखोला सिँचाइ योजनाको उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र रिजालले भन्नुभयो, "पुर्जाखोलाको पानी ल्याएर फाँटमा सिँचाइ गर्ने बाउबाजेको सपना थियो । यो सपना पुरा होला भन्ने हामीले सोचेका थिएनौँ । प्रदेश सरकारले हाम्रो सपना पुरा गरिदिएको छ । प्रदेश सरकारप्रति आभारी छौँ ।"

सिँचाइ सुविधा पुगेपछि ताजा तरकारी उत्पादन गरेर किसानले राम्रो आम्दानी लिन थालेको उहाँको भनाइ छ । सिँचाइ गर्न पाएपछि सबैतिर हराभरा देखिएको छ । खेतबारीमा गोलभेँडा, काँक्रा, घिरौला, करेला, काउली लगायतका ताजा तरकारी फलेको छ । असारको पहिलो हप्ता नै खेत रोपाइको तयारीमा कृषकहरू जुटेको रिजालले बताउनुभयो ।  

जलजलाको वडा नम्बर ९ बनौंको सीमानामा रहेको पुर्जाखोलाबाट दुईसय एमएमको एचडिपी पाइपमा ३ हजार ८ सय असी मिटर लामो दूरीको पाइपलाइनमार्फत बास्कोट गाउँको सिरानमा पानी ल्याइएको छ । सिँचाइ योजनाबाट बास्कोटका साथै फोक्सीङ, छहरा र एकपाटेका कृषकहरू लाभान्वित भएका छन् । 

तीन सय घरधुरीको ६ सय भन्दा बढी रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको पुर्जाखोला सिँचाइ योजना उपभोक्ता समितिका उपाध्यक्ष रिजालले बताउनुभयो । बाह्रै महिना सिँचाइ पुगेको छ । पहिला आकशे पानीको भर पर्नुपर्दथ्यो, उहाँले भन्नुभयो, "सिँचाई सुविधाले कृषि उत्पादनमा पचास प्रतिशत वृद्धि भएको छ । खडेरीमा पनि सिँचाई गरेर ताजा तरकारी उत्पादन हुनथालेपछि कृषकको मुहारमा खुसी छाएको छ ।"

"योजना सम्पन्न गर्न सिँचाइ कार्यालय र निर्माण व्यवसायीको पनि साथ सहयोग प्राप्त भयो । सिँचाइ योजना सम्पन्न गर्न सिँचाई कार्यालयका प्रमुखदेखि कर्मचारीहरू उपभोक्ता सरह काममा खटिनुभएकाले कार्यालयप्रति बास्काेटवासी आभारी छौँ," रिजालले भन्नुभयो । 

रिजालले भन्नुभयो, "सिँचाइ योजना सम्पन्न भएर कुलोमा पानी सञ्चालन भएपछि असार १५ भित्रमै धान रोपाइ हुन्छ । ताजा तरकारी उत्पादन गरेर किसानले आर्थिक लाभ पनि लिन थालेका छन् । सिँचाइ योजनाले बास्कोटवासीको जीवनस्तरमा सकरात्मक परिवर्तन देखिन थालेको छ ।"

पुर्जाखोलाको पानीले खेतमा सिँचाइ गर्न पाएपछि किसानहरू खुसी भएको जलजला गाउँपालिका ७ का वडा सदस्य लक्ष्मीकुमारी आचार्यले बताउनुभयो । लामो खडेरी परे पनि सिँचाइ सुविधाले तरकारी र अन्य बाली राम्रो भएको उहाँले बताउनुभयो । 

"आकाशे पानीको भरमा रोपाइँ गर्ने र धेरैजसो जग्गामा मकै लगाउने गरिन्थ्यो । सिँचाइ नभएपछि कृषि पेसा पनि निर्वाहमुखी थियो," वडा सदस्य आचार्यले भन्नुभयो, "सिँचाइ सुविधाले बास्कोटका सबैको घरपरिवारले तरकारी फलाएका छन् । सिँचाइ सुविधा भएपछि यहाँ बाह्रै महिना तरकारी उत्पादन हुनथालेको छ ।"

सिँचाइको सुविधा पुगेपछि यहाँका किसानहरूको आम्दानीको स्रोत बढ्ने र अबको दुईचार वर्षभित्र जनजीवनमा धेरै परिवर्तन देखिने वडाध्यक्ष टुंगनाथ आचार्यले विश्वास व्यक्त गर्नुभयो ।  

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गरेको हो । कार्यालयले एक करोड ३३ लाख ६४ हजार तीन सय ४१ रुपियाँमा तुलाचन कन्स्ट्रक्सन कुस्मा पर्वतसँग ठेक्का सम्झौता गरेर योजना सम्पन्न गरेको कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताउनुभयो । योजनामा इन्टेक, वितरण च्यामबर, ८ वटा पाइप क्रसिङ पुल लगायतका संरचना निर्माण भएको अधिकारीले बताउनुभयो । निर्माण व्यवसायीले तोकिएकै समयअवधिमा योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ । 

योजना अन्तर्गत उपभोक्ता समितिले निर्माण गर्नुपर्ने चारसय मिटरको नहर बनाउन बाँकी रहेपनि अन्य काम सकिएकाले पानी सञ्चालनमा आएको उहाँले बताउनुभयो । यसै आर्थिक वर्षभित्र योजनाको सबै काम सम्पन्न हुने र कृषि उत्पादनमा थप वृद्धि हुने आशा गरिएको उहाँको भनाइ छ ।