• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई विद्यालयमै निःशुल्क खानाको व्यवस्था

blog

विद्यालयमै खाना खाँदै कन्यादेवीका विद्यार्थीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ३० गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीलाई विद्यालयमा निःशुल्क खानाको व्यवस्था गरेको छ । पालिकाले वडा नम्बर ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई खाना खुवाउन सुरुवात गरेको छ ।

बालबालिका बिहान सबैरे हिँडेर विद्यालयमा आउनुपरेकाले भोकै नहुन् भनेर खानाको व्यवस्था गरिएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

वर्षायाम सुरु भएकाले भौगोलिक विकटताले यातायात सञ्चालनमा नआएकाले टाढाबाट विद्यार्थी आउनुपर्ने बाध्यताले गर्दा निःशुल्क खानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । चुमानले भन्नुभयो, ‘‘विद्यार्थीलाई निःशुल्क खानाको सुविधा दिनका लागि दश लाखको व्यवस्था गरेका छौं । आगामी वर्ष निःशुल्क आवासीय सुविधा दिने तयारीमा छौं ।’’

सो विद्यालयमा करिब एक सय विद्यार्थी टाढाबाट आउने भएको सो बजेटको व्यवस्था गरिएको चुमान बताउनुहुन्छ । बालबालिका विहान ७ः३० बजे नै हिँडेर विद्यालयमा जानुपर्ने बाध्यता रहेकोले सुविधा दिइएको गाउँपालिकाले जनाएको छ ।

अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरापालन
यसैबिच सो विद्यालयले खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न विद्यालयमै कुखुरा कुखुरापालन व्यवसाय गरेको छ  ।

गाउँपालिकाको पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय गरिएको हो । पालिकाले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताउनुभयो । हाल २० जना विद्यार्थी कुखुरापालनमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । दुई सय स्थानीय जातका चल्ला ल्याएर पालन सुरु गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयका अनुसार प्रतिकिलो भाले आठ सय र पोथी सात सयमा बिक्री गर्ने गरिएको छ । गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको हो । यस विद्यालयमा आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति बालबालिका अध्ययन गर्ने भएको सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको छ । कुखुरापालनबाट आएको मुनाफा विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम व्यवस्था गरिएको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।