• १२ साउन २०८१, शनिबार

अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी

blog

तस्बिर:रासस

बागलुङ (गलकोट), जेठ २९ गते । विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ । उहाँ यस्तो कार्यमा संलग्न भएको हिजोआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा व्यस्त हुनुहुन्छ ।   

गाउँको कृषि उपजलाई बजारसँग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने देखेपछि राजभण्डारी महालक्ष्मी अर्गानिक खाद्य उद्योगमार्फत कृषि उपजको बजारीकरण गरिरहनुभएको छ । चार वर्षअघि तोरीको तेल उद्योग सञ्चालनमा ल्याउनुभएको उहाँले बिस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर बिक्री गर्न थालेको बताउनुभयो । उहाँले शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्नुका साथै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद गरेर बागलुङ बजार ल्याएर बिक्री गर्दै आएको सुनाउनुभयो ।

“सुरुमा तोरीको तेलको कारोबार गरेको थिए, पछि ताराखोलाको भाङ्गो, टिुमर, सिस्नो, भट्टमास, घिउ, तोरीको तेल, गुन्द्रुक, ढकायोको साग, फापरको पीठो, कोदोको पीठो, मकै र जौको च्याख्ला, ताराखोलामा उत्पादन भएको रन्बो ट्राउट माछालगायतका सामाग्री बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो । राजभण्डारीले आफ्नो उद्योगमा उद्योगमा जिल्ला बाहिरको आयातित सामग्री बिक्री नुहुने र स्वास्थ्य वर्द्धक वस्तु मात्रै उपलब्ध गराइरहेको उहाँको भनाइ छ । पछिल्लो सयम अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण धेरैले अर्गानिक कृषि उपज खोज्दै उद्योगसम्म आउने गरेको उहाँले बताउनुभयो । 

“मेरो स्वभाव पनि अर्गानिक खानेकुरा खोज्ने छ, त्यसैले चार वर्षअघि शुद्ध तोरीको तेल उत्पादन गर्नका लागि प्रशोधन उद्योग सञ्चालनमा ल्याएको थिए, पछि उपभोक्ताको मागअनुसार गाउँमा उत्पादन भएको अर्गानिक आलुदेखि घिउ, भाँगोदेखि अण्डासम्म बिक्री गर्न थाले”, राजभण्डारीले भन्नुभयो, “तुलनात्मक रूपमा महँगो मूल्य पर्ने यस्ता अर्गानिक वस्तुको महत्त्व बुझेकाहरू मात्रै उद्योगमा आउँछन्, यस विषयमा जानकारहरू मात्रै मेरा नियमित ग्राहक छन् ।” राजभण्डारीले आयातित सामग्रीलाई प्रतिस्थापन गर्न स्वास्थ्य वर्द्धक वस्तु मात्र बिक्री गरिरहनुभएको छ । पछिल्लो समय अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण अर्गानिक कृषि उपजको खोजी हुन थालेको उहाँले बताउनुभयो । 

५८ वर्षीय राजभण्डारीले आफ्नो जीवनकालमा एक दर्जनभन्दा बढी उद्योग स्थापना गरी सञ्चालनमा ल्याइसक्नुभएको छ । यसअघि उहाँले इँटा उद्योग, कालिका मिनिरल खानेपानी, रेम्बो ट्राउट माछा फर्मलगायतका उद्योग सञ्चालन गरिसक्नुभएको छ । विशेष गरी बागलुङको ताराखोला गाउँपालिकामा उत्पादन हुने कृषि उपजको बजारीकरण गर्न लाग्नुभएका उहाँले आयातित कृषि उपजको तुलनामा बढी मूल्य पर्ने भए पनि बिस्तारै उपभोक्ताको सङ्ख्या बढ्दै गएको सुनाउनुभयो । 

“थोरै खाने तर अर्गानिक र शुद्ध खानेकुराले शरीरलाई फाइदा गर्दछ । गाउँको सिन्की, टिमुर, भागो, तोरीको तेल, घिउ र फापर जस्ता कृषि उपज प्रयोग नगरी हामीले मम, पिजा र जङग फुडस् खाइरहँदा स्वास्थ्यमा असर परिरहेको सुन्छौँ”, उहाँ भन्नुहुन्छ, “मेरो उद्योगमा पाइने हरेक कृषि उपज गाउँका किसानलाई उचित मूल्य दिएर खरिद गरेर ल्याउने गरेको छु, मौसमअनुसार गुडुरा र गौरिया चामलसहित अन्य अन्नको च्यख्लासमेत पाइन्छ । अब यहाँका पालिकाले स्थानीय कृषिकलाई प्रोत्साहन हुने गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्छ ।” रासस