यादवराज पुरी
रौतहट, जेठ २८ गते । जिल्लाको चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण सम्पन्न गरेको वृद्धाश्रम भवन प्रयोगविहीन हुँदा अलपत्र अवस्थामा छ ।
असहाय ज्येष्ठ नागरिकको जीवनयापन सहज ढङ्गले व्यवस्थापन गर्ने उद्देश्यले एक वर्ष अघि निर्माण गरिएको उक्त भवन प्रयोगमा आउन नसकेपछि अलपत्र अवस्थामा पुगेको हो ।
डिभिजन वन कार्यालय रौतहटको मातहतमा रहेको सरकारी जमिनमा सुविधायुक्त दुई तले वृद्धाश्रम भवन बनेको छ । उक्त भवनमा वृद्धाश्रम सञ्चालन गर्न अनुकूल नभएको भन्दै स्थानीय विभिन्न सङ्घसंस्थाले आ–आफ्ना कार्यालय राख्न माग गरेको वडा अध्यक्ष विष्णु उप्रेतीले बताउनुभयो । उहाँकाअनुसार वृद्धाश्रम भवन कै लागि आएको बजेटबाट निर्मित उक्त भवन असहाय ज्येष्ठ नागरिककै लागि उपयोगमा आउनु पर्छ तर भवन नगरपालिकालाई हस्तान्तरण भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन भने हुन सकेको छैन ।
सघन सहरी विकास कार्यालय पर्साले निर्माण सम्पन्न गरेको उक्त भवन अलपत्र अवस्थामा रहनुभन्दा स्थानीय सङ्घसंस्थालाई सेवा प्रवाह गर्न दिँदा भवनको रेखदेख र सुरक्षा हुने बताउनुहुँदै नेपाल फुटबल सङ्घ मधेश प्रदेश समितिका अध्यक्ष नेपाल कार्कीले उक्त भवन खेलकुद एकेडेमीका लागि सञ्चालनमा ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
यता स्थानीय जनप्रतिनिधिले वडा नम्बर ७ मा रहेका सम्पूर्ण सरकारी कार्यालय सोही भवनबाटै सञ्चालन गर्न सकिने सम्भावना रहेको औँल्याएका छन् । जङ्गल नजिक बनाइएको उक्त भवन करिब तीन करोड रुपियाँको लागतमा निर्माण भएको वडा अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । प्रयोगविहीन अवस्थामा रहेको उक्त भवनको सरसफाइ तथा रेखदेख वडा कार्यालयले नै गर्दै आएको छ ।
उहाँले भवनमा तत्काल वृद्धाश्रम सञ्चालन गर्न केही प्राविधिक समस्या परेकोले वडामा रहेका स्वास्थ्य संस्था, प्रहरी चौकीलगायतका सरकारी सङ्घसंस्था र सिपमूलक तथा आयमूलक तालिम सञ्चालनमा गर्न सकिने बताउनुभयो ।
नगरप्रमुख सञ्जय काफ्लेले वुद्धाश्रमको लागि भनेर निर्माण गरिएको सो भवन के का लागि प्रयोगमा ल्याउने भन्ने बारे कार्यपालिकाको बैठकले निर्णय गर्ने बताउनुभयो ।