• १२ साउन २०८१, शनिबार

इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट

blog

विपिन जोशीका परिवारसँग कुरा गर्नुहुँदै स्टोड नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम साकेड साथमा इजरायली राजदूत हनान गोडर । तस्बिरः गोरखापत्र

एकिन्द्र तिमिल्सेना

टीकापुर, जेठ २८ गते । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा. हाइम शाकदले भेट गर्नुभएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नुभएको हो । 

भेटका क्रममा विपिनको उद्धारका लागि इजरायल सरकार निरन्तर खोजी कार्यमा लागिरहे पनि उपलब्धि नभएको तर विपिनको अवस्था एक दिन पत्ता लाग्ने र छिट्टै घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताउनुभएको छ । इजरायलमा पुगेर बेपत्ता हुनुभएका विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य मानेको पनि राजदूत गोडरले बताउनुभयो । 

विपिन काम गर्ने कलेज र फार्मले आफ्नो तर्फबाट सेवा सुविधा र क्षतिपूर्तिको केही दिन खोजे पनि परिवारले अस्वीकार गर्दै आएको छ आइतबारको भेट परिवारका सदस्यलाई सान्त्वना दिन र इजरायलका तर्फबाट दिन खोजेको सुविधा लिइदिन अनुरोध गरेको छ । इजरायली टोलीले विपिनको परिवारसँग गोप्य भेट गरेको हो विश्वविद्यालय स्रोतले जनाएको छ । भेटमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, कृषि विज्ञान सङ्कायका डीन डा. विष्णुविलास अधिकारीसँगै भए पनि दूतावासको टोलीले जोशीका परिवारलाई छुट्टै भेटेको छ । 

वि.सं. २०८० साल असोज २० गते देखि बेपत्ता जोशीको अवस्था अझै अज्ञात छ । नेपाल सरकारले पनि कूटनीतिक पहल गरेर विपिनको रिहाइ गर्ने आश्वासन दिए पनि उहाँको अवस्थासम्म सार्वजनिक हुन सकेको छैन । 

सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका डीन डाक्टर विष्णुविलाश अधिकारीका अनुसार राजदूतावासको टोलीले आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, इजरयलमा मारिएका कैलालीका विद्यार्थीहरू नारायण न्यौपाने र आशीष चौधरीका परिवारलाई भेटने कार्यक्रम छ भने आजै इजरायलमा मारिएका विद्यार्थीहरू पढेको कलेज टीकापुर बहुमुखी क्याम्पसमा पनि भेट्ने कार्यक्रम छ । 

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिका विद्यार्थीहरू इजरायल घटनामा मारिएपछि राजदूतावासको टोली पटक पटक विश्वविद्यालय र मृतक विद्यार्थी र बेपत्ता जोशीको परिवारलाई भेटघाटमा आउने गरेको छ ।

मारिएका दश जनाको आश्रित परिवारलाई इजरायल सरकारको कानुन अनुसार मासिक पेन्सन दिन सुरु गरेको छ तर कति दिन्छ भन्ने सार्वजनिक गरेको छैन ।