• १२ साउन २०८१, शनिबार

विद्यालयमा 'पुलिस शिक्षक'को व्यवस्था

blog

सिन्धुली जिल्लामा सामुदायिक तथा संस्थागत विद्यालयमा प्रहरीले नियुक्त गरेको ‘पुलिस शिक्षक’हरु । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ २७ गते । सिन्धुली जिल्लामा अपराधिक घट्ना न्यूनीकरणका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा ‘पुलिस शिक्षक’ को व्यवस्था गर्न सुरु गरिएको छ। 

पहिलो चरणमा परिक्षणका रुपमा सदरमुकाम केन्द्रित १३ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयमा पुलिस शिक्षक नियुक्त गरिएको छ । समाजमा भई रहेका अपराधका घट्नाको न्यूनीकरण, सामाजिक विकृति, बिसङ्गती, लागू औषध, सवारी दुर्घटना, सडक सुरक्षा लगायतका विषयमा विद्यार्थीमार्फत् समुदायमा जनचेतना वृद्धि गर्न विद्यालयमा पुलिस शिक्षक नियुक्त गर्न सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त अभियान प्रभावकारी बनेमा जिल्लाका अन्य विद्यालयमा पनि पुलिस शिक्षक नियुक्त गर्दै जाने योजना छ । प्रहरीले स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रमको कार्यविधि बनाएर सो कार्यको सुरुवात गरेको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले तयार गरेको पाठ्यक्रम अनुसार जिल्लामा पुलिस शिक्षक कार्यक्रम सुरु भएको हो ।

विद्यालयले ने तोकेको शिक्षकलाई ‘पुलिश शिक्षक’को रुपमा नियुक्त गरिएको र उहाँहरुलाई कार्यालयमा बोलाएर कस्तो-कस्तो विषयमा कसरी पढाउने भनेर कार्यविधि सहित एक दिने प्रशिक्षण पनि दिएको कार्यालयका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "पुलिस शिक्षकले हप्ताको एक दिन आफूलाई अनुकुल पर्ने समयमा विद्यार्थीलाई उपलब्ध गराएको पाठ्यक्रम अनुसार अभिमुखिकरण गर्नु हुनेछ । त्यसलाइ प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा प्रहरी विद्यालय सम्पर्क समिति पनि गठन गर्दै गएका छौं ।"

एकल प्रयासले मात्र सामाजिक विकृति, लैंगिक हिंसा, बालबालिकामाथि हुने अपराध नियन्त्रण सम्भव नभएकाले प्रहरीले विद्यालय स्तरमा सचेतना दिने र सहकार्य गर्न उक्त अभियान सुरु गरेको उहाँको भनाइ छ । उक्त सम्पर्क समितिमा प्रहरी, अभिभावक, विद्यार्थी, पुलिस शिक्षक रहने र हरेक महिना गर्ने गतिविधिको छलफल गरी सोही अनुसार कार्यक्रम गरिने प्रहरी उपरिक्षक काफ्लेले सुनाउनुभयो । जिल्लाका सबै विद्यालयमा पुलिस शिक्षक नियुक्त गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार पुलिस शिक्षकले आफ्नो विद्यालयका बालबालिकालाई आधारभूत सुरक्षा सचेतना, सुर्तिजन्य पदार्थ, यौनजन्य हिंसा, सडक सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग, लागु औषध, मादक पदार्थ र साईबर अपराध, बालबालिका र दुव्र्यवहार सम्बन्धि, सामाजिक विकृति, दाईजो प्रथा, बोक्सीको आरोप सम्बन्धि प्रशिक्षण गर्ने छन् ।

यस्तै, विपद् जोखिम न्यूनीकरण, लैंगिक हिंसासँग आकर्षित कानुनहरु, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र लगायतका बारेमा समेत पुलिस शिक्षकले प्रशिक्षण दिने छन् ।