• १२ पुस २०८१, शुक्रबार

मिश्रको ‘ससुरार’ मा विचरण गर्दा

blog

पं. दीपनारायण मिश्र नेपालीय भोजपुरी साहित्यमा भिष्मपितामहका रूपमा चिनिने कवि व्यक्तित्व हुन् । यिनको ‘अजामिल’ (भोजपुरी खण्डकाव्य), अँजुरी के फूल (राष्ट्रिय कविता सङ्‍ग्रह), फूलझरी (भोजपुरी सामाजिक कविता सङ्ग्रह), दोहा नीति सार (भोजपुरीमा लेखिएका नीतिसम्बन्ीध दोहाहरूको सङ्‍ग्रह), असली नेता हम कहाईं (व्यङ्‍ग्य कविता), ए घरी के घरनी (व्यङ्‍ग्य कविता), ससुरार (व्यङ्‍ग्य कविता), करनी भरनी (भोजपुरी कहानी सङ्‍ग्रह) र उत्सर्ग (हिन्दी कहानी सङ्‍ग्रह) गरी नौ वटा साहित्यिक कृति प्रकाशित छन् । प्रकाशित कृतिलाई नियाल्दा पं. दीपनारायण मिश्र मूल रूपमा कवि व्यक्तित्व र त्यसमा पनि व्यङ्‍ग्य कविता लेख्‍ने कविका रूपमा देखिन्छन् । किनभने यिनका नौ वटा साहित्यिक कृतिमध्ये दुई वटा आख्यानका कृति र बाँकी सात वटा काव्यकृति छन् । यी सात वटा काव्यिक कृतिमध्ये तीन वटा काव्य सङ्‍ग्रह (असली नेता हम कहाईं, ए घरी के घरनी र ससुरार) व्यङ्‍ग्य कविता सङ्ग्रह हुन् । हुन त यिनको कविताको विषय केवल व्यङ्‍ग्य मात्र देखिँदैन, सामाजिक यथार्थ र राष्ट्रियता पनि देखिन्छ । यिनले आफ्नो ‘अँजुरी के फूल’ नामक काव्यकृतिलाई राष्ट्रिय कविता र ‘फूलझरी’ नामक काव्यकृतिलाई सामाजिक कविता भनेर किटान गरेका छन् । यसका साथै यिनले ‘दोहा नीति सार’ लाई नीतिसम्बन्धी दोहाहरूको सङ्कलन भनेर घोषित गरेका छन् । कवि मिश्रले आफ्ना कविताहरूको विषयलाई एक किसिमले रेखाङ्‍कित गरिदिएका छन् । यिनले गरेको रेखाङ्‍कनको आधारमा भन्ने हो भने यिनी समाजमा देखिएका सङ्‍गति–विसङ्‍गति, आशा–निराशा, वैय‍क्तिक कुण्ठाका साथै देश प्रेम, भाइचारा, कुरीति, राजनीतिक विद्रूपता आदिलाई जीवन्त तरिकाबाट अभिरेखाङ्‍कन गर्ने कवि हुन् । नेपालीय भोजपुरी साहित्य जगत्मा कवि मिश्रलाई भोजपुरी भाषाका भिष्मपितामह भन्ने गरिन्छ । कवि मिश्रले आफ्नो मातृभाषाका लागि अविस्मरणीय योगदान गरेका छन् । 

 यिनको सबैभन्दा पछिल्लो र लगभग अन्तिम कृतिका रूपमा जन्मिएको र विसं २०७० सालमा पं. दीपनारायण मिश्र वाङ्‍मय संस्थानबाट प्रकाशित काव्यकृति हो– ‘ससुरार’ । ‘ससुरार’ विशुद्ध भोजपुरी भाषामा व्यङ्ग्यात्मक रूपले लेखिएको कविता सङ्ग्रह हो । यसमा कवि मिश्रले ‘ससुरार’ (ससुराली) लाई विषयवस्तु बनाएर ससुरालीमा बस्ने आफन्तहरूलाई विभिन्न शीर्षकमा बाँधेर कविता लेखेका छन् । पुस्तकको आवरण साधारण र पन्ना हलुका भए पनि यसमा वर्णित विषय जीवन्त रहेको छ । यस काव्यकृतिमा ससुरालीतिरका हरेक पात्रलाई विषयका रूपमा समेटिएको छ । पुस्तक नियाल्दा कहिले हाँसो आउँछ त कहिले एकदम रमाइलो लाग्छ । केही घण्टामै पढेर सकिने खालको यस पुस्तकमा ६ वटा शीर्षक रहेका छन् । पहिलो शीर्षक नै ‘ससुरार’ रहेको छ । जुन कविताको नामले यस पुस्तकको नाम पनि रहन गएको छ । यस कवितामा कवि मिश्रले ससुराली स्वर्ग जस्तै हुन्छ भन्ने कुरो दर्साएका छन् । जहाँ ज्वाइँलाई राजा जस्तो आदर सत्कार हुन्छ, ससुरालीमा आफैँ खानलाई धौ धौ किन नहोस् तर ज्वाइँको आगमन हुँदा ऋण लिएर पनि खुब आदर सत्कार गरिन्छ, ससुराली भनेको स्वर्ग जस्तै आनन्द दिने ठाउँ हो भनेर कवि मिश्रले चित्रण गरेका छन् । उदाहरण स्वरूप एकाध काव्यश्लोक यस प्रकार प्रस्तुत गरिएको छ ः

ससुरवे हवे सरग पुरी

उर्वशी आदि सहरज सारी

रहे घरनी घर में रोजे के

परिहास करीं, पारी पारी


ससुरारी में जे आनन्द मिले

उ सरगो में का मिल पाई ?

ओहू में परमिट कोहबर के

कुछ कहले केहू ना खिसिआई (ससुरार, पृं.सं. ५–६)


यसै गरी यस काव्य सङ्‍ग्रहमा रहेको दोस्रो कविताको शीर्षक हो– ‘सास जी’ । यसमा सासूले आफ्नी छोरीका गुणगान बढाइ–चढाइ गरिरहेकी छिन् । मेरी छोरी फूल जस्तै कोमल छिन् । पूरै गाउँमा उनी जस्तो गुणवती कोही छैन भनेर सासूले ज्वाइँसामु छोरीको बढाइ गरिराखेकी छिन्–

हमरा बेटी के पसंगा में

कहीं के कवनो ना होई

सभ कला में इ निपुन बिया

ना केहू के करेले बदगोई


इ हमरा घर के लक्ष्मी हिअ

बड़ तप से अपने का पवनी

सुकुवार बड़ा इ जरिये के

एकरा पग गड़ जाला नवनी (ससुरार, पृं.७)

तेस्रो कविताका रूपमा ‘ससुर जी’ भन्ने कविता लेखिएको छ । जसमा ससुरा ज्वाइँको आगमनले खर्च बढ्छ भनेर चिन्तित हुन्छन् । ज्वाइँलाई आफूनजिक बसाएर घरबाट अलग्गै बस्न सल्लाह दिन्छन् र स्वार्थी बन्न भन्छन् । परिवारसँग बसेर कुनै फाइदा छैन, आफूले कमाएका पैसा आफैँसँग राख्‍न भन्छन् । मेरो छोरीलाई हजुरको घरमा धेरै नै सास्ती छ भन्छन् । ससुरालाई घर बिगार्ने खालको पात्रका रूपमा दर्साइएको छ । कविले ससुराको चिन्तालाई यस प्रकार प्रकट गरेका छन्–

जब देखेले दामाद ससुर

एकाएक दिल धड़क जाला

सोचस अब फेरु का होइ

चतुराई कुल्हि घुसर जाला


घर के खर्चा अब बढ़ जाई

बेसाह दही तरकारी में

ना जाने केतना दिन लागी

इनकर सेवा सतकारी में (पृं.सं.८)

यस कविता सङ्ग्रहको चौथो कविता ‘सारजी’ सबैभन्दा ठुलो र रोचक कविता रहेको छ । यसमा सालोको गुणगान खुब गरिएको छ । सालो–भिनाजुको जस्तो नाता यस संसारमा कसैको छैन भनेर लेखिएको छ । सुखी जीवनको मूल मन्त्र भनेको सालोलाई खुसी राख्‍नु हो । आफ्नो सेवा सुविधामा कटौती गरे पनि सालोको हरेक सेवा सुविधाको ख्याल गर्नु पर्छ भनिएको छ । यस कवितामा कवि मिश्रले सालोलाई सम्पूर्ण सम्बन्धभन्दा पनि महìवपूर्ण सम्बन्ध बताएका छन् । पाँचौँ कविताका रूपमा ‘सरहज जी’ भन्ने कविता उल्लेख गरिएको छ । सरहज भनेको जेठानको पत्‍नी हो, जसलाई खुसी पार्दा ससुरालीबाट पाउने आदरसम्मानमा झन वृद्धि हुन्छ भनेर यस कवितामा उल्लेख गरिएको छ । 

ससुरालीको खुसीको ताल्चा भनेको सरहज हुन् भनेर यस कवितामा चित्रण गरिएको छ । उनलाई लोभ्याउन पायो भने ससुरालीका हरेक पात्रको मनमा राज गर्न सफल भइन्छ भनेर कवि मिश्रले लेखेका छन् । यस कविता सङ्ग्रहको छैठो अन्तिम र सबैभन्दा रोचक कविताको रूपमा ‘सारिन जी’ भन्ने कविता रहेको छ । सालीको बखानै बखानले भरिएको यस कवितामा विभिन्न खालका लोभ्याउने शब्दहरूको प्रयोग गरेर लेखिएको छ । साली जस्ती पनि होस् तर भिनाजुको नजरमा उनी स्वर्गकी अप्सरा नै हुन्छिन् । जुन ससुरालीमा सालीको उपस्थिति हुँदैन, त्यहाँ गरिएको विवाह पनि अधुरै हुन्छ भन्ने आशय प्रकट गरिएको छ । यसरी कवि मिश्रको ‘ससुरार’ मा विचरण गर्दा पाठकलाई सुख र आनन्दको अनुभूति हुन्छ । यस काव्यकृतिमा सङ्कलित कविताले सुख र आनन्दानुभूति दिनुका साथै ससुराली र ससुरालीतिरका आफन्त र घरज्वाइँहरूका बारेमा व्यङ्ग्य पनि गरेका छन् जसले पाठकलाई सोच्‍न बाध्य पार्छन् ।