काठमाडौँ, जेठ २७ गते । महानायक राजेश हमालको नयाँ टेलिभिजन सो ‘यो नेपाली शिर उचाली’ को प्रसारण सुरु भएको छ । कार्यक्रममा हमालले विदेशी भूमिमा सङ्घर्ष गरी गर्व गर्न लायक काम गरेका नेपालीसँग उनीहरूको कर्मथलोमै पुगेर साक्षात्कार गर्ने छन् ।
कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीको कथाबाट सुरु हुँदै छ । कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा सेयर गर्दै प्रस्तोता हमालले लेख्नुभएको छ, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुने छ ‘यो नेपाली शिर उचाली’ ।
कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टङ्क सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेस्टुरेन्ट व्यवसायी हुन् । कार्यक्रम मुभ मिडिया प्रालि र अल थ्री मिडिया घर प्रालि ले संयुक्त रूपमा उत्पादन गरेको हो । कार्यकारी निर्माता विवेक रेग्मी रहनुभएको कार्यक्रम साझा कथा युट्युब च्यानलका साथै हिमालयन टेलिभिजनमा पनि प्रसारण भइरहेको छ ।