• १२ साउन २०८१, शनिबार

पढाइसँग दुना टपरीदेखि टनेल बनाउनेसम्म

blog

टपरी बनाउन सिक्दै विद्यार्थीहरु । तस्बिर : सुजन काफ्ले

चरीकोट, जेठ २६ गते । पहिले–पहिले शुक्रबार आधा समय पढाइ हुने भनेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने गर्दथ्यो । विद्यार्थी कम हुने मात्र हैन विद्यालयमा आएका विद्यार्थी पनि पढाइ सकिने बित्तिकै घरतिर दौडने प्रवृत्ति रहेको थियो ।

पढाइ नभएको खाली समयमा शिक्षकले विद्यार्थीलाई पानी बोकाउने, विद्यालय वरपरको झार उखाल्ने, कक्षा कोठा सफा गर्न लगाउने जस्ता सामान्य कामहरू गर्ने गराइन्थ्यो । साथै हाजिरी जवाफ, लोक गीत तथा नृत्य गराउने चलन समेत थियो । यसैलाई त्यतिखेर अतिरिक्त क्रियाकलाप मानिन्थ्यो । तर हिजोआज जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीको अतिरिक्त क्रियाकलापको शैली बदलिएको छ । पछिल्लो समयका विद्यार्थीको रुचिलाई समेत मध्यनजर गर्दै र हराउँदै गएका सिपहरूलाई जगेर्ना गर्ने उद्देश्यले फरक खालको अतिरिक्त क्रियाकलापहरू गर्न सुरु गरिएको छ ।

तामाकोशी गाउँपालिका ४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयमा ३०४  जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार खड्काले भन्नुभयो, ‘‘विद्यार्थीहरूबिच अतिरिक्त क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ ।’’ उहाँले प्रायः खेलकुद, साहित्य, मनोरञ्जन, सरसफाइ जस्ता काममा प्रत्येक शुक्रबार विद्यार्थी संलग्न भइरहने बताउनुभयो ।

गएको शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत दुना टपरी बनाउने, उधारिएको कपडा सिलाउने, टनेल बनाउने जस्ता क्रियाकलाप गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका छात्रा विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको उहाँले बताउनुभयो । सोही दिन कक्षा १ देखि ३ सम्मा विद्यार्थीहरूलाई सामान्य उध्रेको सिउने, टाँक लगाउने प्रदान गरिएको छ भने कक्षा १० मा अध्ययनरत छात्रलाई टनेल बनाउने सीप प्रदान गरिएको खड्काले बताउनुभयो ।

पहिले अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्छ भनेर भाग्ने विद्यार्थी अहिले आफैँ आयोजना गर्ने गरेको विद्यालयले जनाएको छ । प्रत्येक साता कुनै न कुनै कार्यक्रम भइरहने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने खालका क्रियाकलापमा विद्यार्थी संलग्न हुन रुचाउँछन् ।’’

विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थी विद्यालयको पढाइ समयावधिका लागि पूरा समय बस्ने भएकाले सिकाइको उपलब्धि बढेको उहाँको भनाइ छ । अतिरिक्त क्रियाकलापले बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आफ्नो विद्यालयमा विद्यार्थी आकर्षित हुनुको कारणमध्ये अतिरिक्त क्रियाकलाप पनि एक हो ।’’

विद्यार्थीलाई पढाइले मात्र दक्ष बनाउन नसकिने बताउँदै वडा अध्यक्ष नारायण खड्का (सुरज) ले अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउन सकियो भने योग्य नागरिकका रूपमा रूपान्तरण गर्न सकिने बताउनुभयो । अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थी आफैँ जागरूक हुने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

विद्यार्थीलाई अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन हुम विद्यार्थीलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । न्यून आयस्रोत भएका विद्यार्थीले सीप सिकेर त्यसलाई कार्यान्वयनमा ल्याई आम्दानीको स्रोत बनाउने वडाको योजना रहेको खड्काले बताउनुभयो । यो कार्यक्रम वडा भित्रका सबै विद्यालयमा सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्षको भनाइ रहेको छ ।