• १२ साउन २०८१, शनिबार

प्रदेश बलियो बनाउने गरी काम गर्छु : मुख्यमन्त्री सोडारी

blog

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नीति तथा योजना आयोगले आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकमा सम्बोधन गर्दै । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ २६ गते । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशलाई आर्थिक, भौतिक, सांस्कृतिक हिसाबले बलियो बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । 

धनगढीमा नीति तथा योजना आयोगले गरेको प्रदेश विकास परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेशको विकासका लागि व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा लिने बताउनुभयो । 

मुख्यमन्त्रीले सुदूरपश्चिमका नौ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख र विभिन्न विषयका विज्ञहरूको राय सुझावलाई सम्पत्तिका रूपमा लिएर कार्यान्वयन गर्ने बताउनुभयो । 

नीति आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री सोडारीले आगामी दिनमा परिषद् बैठक नियमित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताउनुभयो । 

एकातिर बजेटको अभाव छ, अर्कोतिर कर्मचारी छैनन्, कसरी काम गर्ने उहाँले आफ्नो मन्त्रालयको समस्या सुनाउँदै भन्नुभयो, “उत्पादन र स्वरोजगारमा देखिने गरी काम गर्न बजेट विनियोजन गर्न खोजेका छौँ ।” 

सो अवसरमा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सचिवहरू दुई–तीन महिनामै परिवर्तन हुँदा आफ्नो कार्यकालमा काम गर्न कठिनाइ भएको अनुभव सुनाउनुभयो ।  

अर्का पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सङ्घको वित्तीय आयोगमा प्रतिनिधित्व नहुँदा सुदूरपश्चिमले उचित बजेट नपाएको बताउँदै भएको बजेट पनि सदुपयोग नहुनु दुःखद भएको बताउनुभयो । 

प्रदेश सभा सदस्य वीरबहादुर थापाले सङ्घीय, प्रदेश र स्थानीय गौरवका कार्यक्रम हचुवाको भरमा राख्न नहुने बताउनुभयो । अछाम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले विभिन्न तहका सरकारबाट वितरण हुने अनुदान रकम दुरुपयोग भएकाले अनुदान दिँदा न्यूनतम व्याज लिने गरेर मात्र दिनुपर्ने धारणा राख्नुभयो । 

शिक्षा तथा अर्थविद् डा. हेमराज पन्तले गरिबीलाई सम्बोधन गरेर बाजेका पालदेखि अहिले पनातिसम्म न्यून ज्यालामा भारत जाने परम्पराको अन्त्य हुनुपर्ने बताउनुभयो । पहाडका बस्ती रित्तिने अवस्था बन्द गर्नुपर्ने यहाँको सुझाव छ । उहाँले भारतका पहाडी क्षेत्र गुल्जार कसरी रहन सकेका छन् त्यसबाट सिकेर काम गर्न पनि प्रदेश सरकारलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा डडेलधुराका जिल्ला समन्वय प्रमुख गगनबहादुर भण्डारी, कैलालीको लम्कीचुहा नगरपालिका प्रमुख सुशीला शाही, डोटी जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा (रोकाया) लगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा आयोगका उपाध्यक्ष गणेश विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।