• १२ साउन २०८१, शनिबार

तरकारी खेतीमा कृषकको हौसला बढाउँदैछ प्रदेश सरकार

blog

स्थानीय कृषक अगमशेर राईले आफ्नै खेतबारीमा रोपेको खुर्सानी र तरकारी । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, जेठ २६ गते । बिहान झिसमिसेदेखि गोधुली साँझसम्म खेतबारीमा नङ्ग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनैबेला अगमशेर राई दिक्क बन्नुहुन्थ्यो । तर प्रविधिको विकासले उहाँको कामलाई अहिले सहज बनाइदिएको छ । 

धनकुटा –४ का अगुवा किसान राईका लागि कृषि कर्म रुचिको विषय त हो नै, तर यसमा गर्नुपर्ने कठोर मिहेनत र झन्झट अनि मेहनतअनुसार फल प्राप्त नहुँदा उहाँलाई चिन्तित बनाउँछ ।  


प्रविधिको विकासले उहाँको कृषि कर्म बिस्तारै सजिलो हुँदैगएको उहाँको अनुभूति छ । आम्दानी बढ्ने भएपछि आकर्षण पनि थप्दै गएको उहाँको भनाइ छ । किसानको खेतबारीमा कृषि औजार बढेपछि झन्झट हट्दै गएको बताउने राई यो काममा कोशी प्रदेश सरकारले ठुलो सहयोग गरेको बताउनुभयो ।  

‘जिल्लाका किसानका लागि कोशी प्रदेश सरकारको कृषिलक्षित कार्यक्रम उन्नत कृषि कर्मका  लागि सहयोगी साबित भएका छन्’ उहाँको भनाइ छ । कुनै बेला खेतबारीमा घण्टौँ जोतिएर काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ । कृषकले कृषि औजारको प्रयोग गर्न थालेपछि उहाँहरूको समयको बचत त भएको छ, कृषिउपजले दिने आम्दानी पनि बढेको छ । 


‘पहिले घण्टौँ लगाएर गोरु या राँगाले जोत्नुपर्थ्यो अहिले मिनी ट्रेलरले एकै छिनमा खनजोत गर्न सकिन्छ’ राईले भन्नुभयो, ‘प्रदेश सरकारले हामीमाथि ठुलो गुन लगाएको छ ।’ 

कोशी प्रदेश सरकारप्रति यसरी कृतज्ञ देखिने र सुनिने अगमशेर एक्ला किसान होइनन्, प्रदेशबाट कृषि औजारका लागि र उन्नत खेती किसानीका लागि अनुदान सहयोग पाएका जिल्लाका केही किसानहरू खुसी हुनुहुन्छ ।  

कोशी प्रदेश सरकारले धनकुटाका किसानका लागि कृषि ज्ञान केन्द्रमार्फत कृषिमा राजमार्गलक्षित तरकारी उत्पादन कार्यक्रम शीर्षकमा अनुदान प्रदान गर्दैआएको छ । 


धनकुटा नगरपालिका–४ ठोकामा सञ्चालनमा आएको सघन कृषि तथा पशुपन्क्षी विकास फर्मका सञ्चालक राईका अनुसार सरकारले गरेको सहयोगका कारण  बाँझो जग्गामा तरकारी फलाउन सकिएको छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ मा खनजोत गर्न ७५ प्रतिशत अनुदान र २५ प्रतिशत लागत सहभागितामा ९० हजार पर्ने मिनिट्रिलर अनुदान दिएको उहाँले जानकारी दिनुभयो । 

यसरी खनजोतका लागि चाहिने औजार, गोडमेल तथा बालीनाली थन्क्याउन प्रयोग हुने औजार सरकारले उपलब्ध गराउन थालेको छ । जसका कारण किसानको खेतबारीमा गर्नुपर्ने लामो समयको श्रम जोगिएको छ ।  


पाँच वर्षअघि प्रदेश सरकारबाट ७५ प्रतिशतको अनुदानमा पाएको त्यही  मिनिट्रिलरले अहिलेसम्म पनि खेतबारी जोतिरहनु भएका राईका अनुसार चालु आर्थिक वर्षमा पनि तीन लाख अनुदान प्राप्त भएको छ । 

‘त्यसबाट पन्ध्र रोपनी जमिनमा अकबरे खुर्सानी लगाएको छु । पाँच रोपनी क्षेत्रफलमा प्याज, पाँच रोपनीमा गाँजर, गोबी, टमाटरलगायतको खेती लगाएको छु’ उहाँले थप्नुभयो ‘यही खेतीबाट प्रत्येक वर्ष ८ देखि ९ लाख रुपियाँ आम्दानी भइरहेको छ ।’  

धनकुटाका अन्य तरकारी किसानका अनुसार चैतमा लगाएको अकबरे एक लट यतिवेला फल्दैछ । वैशाखमा लगाएको अकबरे एक लट फुल्दैछ । जेठमा अलिकति लगाए बाँकी लगाउने तयारी सुरु भइसकेको उहाँले बताउनुभयो । 

धनकुटाका किसानका अनुसार अकबरे खुर्सानीको बजार अभाव छैन । अगमशेर राईले भन्नुभयो, ‘असार र साउन महिनामा प्रतिकिलो ४०० का दरले १० क्विन्टल, भदौमा प्रतिकिलो ३०० का दरले ८ क्विन्टल, असोज र कात्तिकमा ४०० का दरले ६ क्विन्टल बेचिसकेको छु । बजारको अभाव छैन ।’ 


कृषि  ज्ञान केन्द्र धनकुटाका अनुसार प्रदेश सरकारको सहयोगले जिल्लाका किसान लाभान्वित हुने सङ्ख्या लगातार बढिरहेको छ ।  कृषि ज्ञान केन्द्र धनकुटाले सङ्घीयता कार्यान्वयनमा आएपछि उन्नत कृषिलक्षित कार्यक्रममा ७५ प्रतिशत प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, धनकुटाको लगानी र कृषि सहकारी, कृषक समूह तथा कृषकहरू (अनुदान ग्राही) ले २५ प्रतिशत लगानीमा अनुदानका कार्यक्रम सञ्चालन गर्दै विभिन्न चरण किसानका लागि सेवा उपलब्ध गराइरहेको छ । 

यसैगरी आर्थिक वर्ष २०८०–८१ मा पनि उल्लेखित प्रकृतिका कार्यक्रम सम्पन्न भएका सरदर ५६ प्रतिशत सम्पन्न भएको केन्द्रको भनाइ छ । ४४ प्रतिशत सम्पन्न हुने अवस्थामा रहेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्रबहादुर रानाले बताउनुभयो । 

‘प्रदेश सरकार निर्वाहमुखी कृषि प्रणालीलाई यान्त्रीकरण, व्यवसायीकरण, बजारीकरणको माध्यमबाट व्यावसायिक एवं प्रतिस्पर्धी क्षमतामा उकाल्ने अभियानमा छ’ उहाँले भन्नुभयो, ‘सोहीअनुसार हामी जिल्लामा गतिविधि गरिरहेका छौँ । यसको लाभ किसानले पाइरहनु भएको छ ।’ 

उहाँका अनुसार प्रदेश सरकारले तरकारी खेतीमा मात्र होइन, अदुवा उत्पादन प्रवर्द्धन कार्यक्रम, कृषक समूह, कृषि सहकारी, निजी फर्म एभोकाडो खेती प्रवर्धन, कफी खेती विस्तार, गँड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुधार कार्यक्रम, पुष्प खेतीका लागि नर्सरी स्थापना, मकै उत्पादक प्रवर्धन कार्यक्रममा पनि किसानलाई प्राविधिक तथा औजार, बिरुवा लगायतको सहयोग गरिरहेको छ । 


यस बाहेक सुन्तला तथा फलफूल खेती कृषक समूह, महिला, दलित, विपन्न तथा पिछडिएको समुदायलक्षित कार्यक्रम, मागमा आधारित कार्यक्रम, रैथाने बाली प्रवर्धन, व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग, सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण, सेतो भटमास खेती विस्तार गर्न उन्नत बीउ वितरण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास, किरा पालन घर मर्मत लगायतका कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै स्थानीय किसानलाई सहयोग गर्दैआएको छ । 

सो कार्यक्रम सञ्चालन लगायतका लागि कोशी प्रदेश कृषि, उद्योग तथा सहकारी मन्त्रालयको कृषि तथा पशुपन्क्षीका लागि विनियोजित १ अर्ब ७० करोड ८५ लाख ०९ हजार रकममध्ये प्रदेश सरकारले चार करोड १७ लाख ४६ हजार कृषि ज्ञान केन्द्र धनकुटालाई र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटालाई १ करोड ९६ लाख १५ हजार गरी जम्मा यस चालु आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ६ करोड १३ लाख ६१ हजार रकम विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रदेश सरकारको बजेटले धनकुटाका लागि रोजगारमूलक र आयआर्जनकारी काममा पनि सहयोग गरेको ज्ञान केन्द्रको भनाइ छ । ‘कृषि क्षेत्रमा भएको क्रियाकलापकै कारण धनकुटाले किसानलाई ठुलो सपना देख्न सहयोग गरिरहेको छ । सहिदभूमि गाउँपालिका ३ स्थित सञ्चालनमा आएको पुमा तुप्खा वाङ्गखाला कृषि तथा पशुपालन फर्म धनकुटाका सञ्चालक अदुवा उत्पादन प्रवर्धन कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रमार्फत दुई लाख रुपियाँ अनुदान पाएका किसान पुष्टबहादुर राईले भन्नुभयो ।

उहाँले थप्नुभयो, “चार रोपनीमा लगाइएको १४ क्विन्टल अदुवाबाट असार अन्तिममा माउमात्र निकालेर १० क्विन्टल बेच्न सकिनुका साथै कात्तिक मङ्सिरमा अदुवा बेचेर सबै खर्च कटाएर चार लाखसम्म आम्दानी लिने गरेको छु । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटाले हाल जलवायु स्मार्ट गाउँको अवधारणालाई व्यवहारमा ल्याएको छ । विकासमा ध्यान केन्द्रित गर्दै जलवायु परिवर्तनका लागि एकीकृत दृष्टिकोण अपनाउँदै आएको छ ।”

कोशी प्रदेशका १० वटा पहाडी जिल्लामा कृषि अनुसन्धान र विकाससम्बन्धी अभियान सञ्चालन गरिरहेको प्रदेश सरकारले धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु क्षेत्रमा पनि कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गरेको ज्ञान केन्द्रले जानकारी दिएको छ । 

धनकुटामा मात्र कृषि ज्ञान केन्द्रमार्फत १०१ किसानले कृषिका लागि अनुदान पाउनु भएको छ । जसमध्ये ५२ जना अनुदान ग्राहीको काम सम्पन्न भई भुक्तानी भइसकेको छ । बाँकी कार्यक्रम सञ्चालन र भुक्तानी प्रक्रियामा छ ।  


अर्थोडक्स चियाको विविधता चयन र भण्डारण कार्यक्रम, टिस्यु कल्चर प्रोपगेसन प्रोटोकलको विकास, ठुलो अलैँचीको प्रकन्द सडन व्यवस्थापनका लागि प्रविधिको विकास, ठुलो अलैँची खेतीको चयन र मर्मत सम्भार ठुलो अलैँचीको भाइरसमुक्त रोपण सामग्रीको उत्पादन र आपूर्ति कार्यमा पनि सरकारले सहयोग गरिरहेको छ ।  

‘सरकारले यस पटकको नीति कार्यक्रम तथा बजेटमा सदाझैँ कृषि क्षेत्रको विकासलाई उच्च महत्त्व दिएको छ’ हाल प्रदेशको कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री हिक्मत कार्कीले भन्नुभयो, “प्रदेश सरकार प्रविधिमा, किसानको उत्पादनलाई बजार पुगाउने सवालमा र किसानलाई सिधै अनुदान उपलब्ध गराउने सवालमा ज्यादै गम्भीर छ । यस पटकदेखि किसानलक्षित कार्यक्रम अझ उन्नत र कसिलो रूपमा कार्यान्वयनमा जानेछ ।”