• २ असोज २०८२, बिहिबार

वेस्ट इन्डिजसँग खेल्ने क्रिकेट टोलीको बिदाइ

blog

नेपाल क्रिकेट टिमको बिदाइ कार्यक्रम । तस्बिरः क्यान

काठमाडौँ, असोज २ गते । नेपाल र वेस्ट इन्डिजबिच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने टी-२० सिरिज खेल्न जाने नेपाली नेपाली टोली बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजित एक कार्यक्रमबिच टोलीको बिदाइ गरेको हो । 

क्यानले यसअघि नै आदिल आलम अन्सारी र सन्दीप जोरालाई समेट्दै सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० तारिख सिरिज खेल्ने छ ।

आदिल र सन्दीपले राष्ट्रिय टोलीमा पुनरागमन गर्नुभएको हो । आदिल सन् २०२२ पछि र जोरा सन् २०२४ को टी–२० विश्वकपपछि पहिलोपटक टोलीमा पर्नुभएको हो । 

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदानमा टी–२० सिरिज खेलेको थियो ।

दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ । वेस्ट इन्डिजले पनि नेपालसँगको सिरिजका लागि खेलाडी टोलीको घोषणा गरिसकेको छ । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान पदाधिकारी लगायतले बिदाइ गर्नुभयो ।

बिदाइअघि जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन पनि गरिएको थियो । 


नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम । 

वेस्ट इन्डिज टोली 

अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट,नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी,करिमा गोर, जेसन होल्डर, अमिर जांगो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिङ्गर ।