• १३ असार २०८१, बिहिबार

हाम्रो सम्पदा

टोखा झोरको कृष्ण महादेव (फोटो फिचर)

blog

काठमाडौँ, जेठ २६ गते । काठमाडौँको टोखा नगरपालिका २ झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । 

निकै साँगुरो गुफामा तप तप पानी चुहिरहेको हुन्छ। यही गुफा भित्र कृष्ण भगवानले तपस्या गरेको  हुँदा यस महादेवको नाम कृष्ण बरुणेश्वर महादेव रहन गएको किम्बदन्ती रहेको छ। साथै पाँच  पाण्डवले कैलाश पर्वत जाने सिलसिलामा यही गुफामा तपस्या समेत गरेको भनाइ रहेको छ।  गुफा अगाडी पाँच पाण्डवको पैतालाको डोबहरूले पनि पुष्टि समेत गर्दछ कि पाँच पाण्डवले यस गुफामा तपस्या गरेको भनेर।

कृष्ण बरुणेश्वर महादेवको वरिपरि गणेश भगवान्, पार्वती, नन्दी, नाग देवता, गाईको थुन र सानो कुण्ड जुन झोर झरनामा समेत मिसिएको छ।  साथै गुफामा नै शक्तिपिठ, नागस्थान, पार्वती, गणेश आदीका मूर्तिहरू समेत रहेको छ। उक्त गुफा रहेको गोलाकार पत्थरको माथि अनन्त गुफा समेत छ। यस कृष्ण बरुणेश्वर महादेवलाई बौडेश्वर महादेव, बौडेश्वर गुफा, वन महादेव, महादेव स्थलको नामले समेत प्रख्यात रहेको छ।

काठमाडौँ रिङरोड सामाखुसी चौकबाट करिब ११ किमीको दुरी अर्थात् शिवपुरी नेशनल पार्क नजिक सवारी साधनहरूबाट गएर निकै ओरालो बाटो भएर हिँडेर गएपछि झोर झरना र कृष्ण बरुणेश्वर महादेव पुगिन्छ। साथै तारकेश्वर नगरपालिकाको नेपालटार, फुटुंग हुँदै जाँदा उकालो बाटो महादेव परिसरमा निजी सवारी साधनबाट पुग्न सकिन्छ। यो बाटो जाँदा सवारी साधन पार्किङ गरेको ठाउँबाट करिब १० मिनेट उकालो सिँढीबाट सहजै गुफा पुग्न सकिन्छ।

यस मन्दिरका पुजारी रामबहादुर कार्कीका अनुसार प्रत्येक ३ महिनाको मसान्तका दिन पशुपति मन्दिरबाट गुरुहरू आएर बेलुका आरती गर्ने प्रचलन समेत रहेको छ भने प्रत्येक महिनाको अन्तिम बुधवार यस महादेवस्थानका पुजारीहरू र भक्तजनहरूबाट रामायण भजन समेत हुने गरेको पुजारी कार्कीले बताउनु भयो।

यस महादेव र झरना परिसरमा भक्तजनहरू एवं पर्यटकहरूको लागि विभिन्न सुविधाहरू समेत रहेको छ। यही स्थलबाट उपत्यकाको दृश्यावलोकन समेत गर्न सकिन्छ ।