• १३ साउन २०८१, आइतबार

रङहरूको रहस्य (कविता)

blog

रङहरूको उत्पत्तिको रहस्य छ ।

रङहरूको अध्यात्म र विज्ञान छन् ।

रङको मिथक पढ्न

रङहरूसँग रङ्गिएर सम्भव छैन ।

इतिहासमा 

रङ्गीन रात बाँचेर पनि त 

रङको पहिचान आविष्कार भएको होइन

आफ्नै मृत्युको भोजभत्तेर खान 

रङहरू

मुस्कानको मलामी जान

खुसीलाई जन्ती बोलाउँदैनन् ।

मान्छेसित– ईख 

सर्पसित– विष नहुनु प्रकृतिविरुद्धको विद्रोह हो

जेसुकै होस्, 

आकाश खसोस् या धरती फाटोस्

मरे पनि

धुवाँ बनेर– आकाशमा 

र, खरानी बनेर– माटोमा 

बाँचिरहने छु– शब्दमा, सङ्गीतमा र स्वरहरूमा ।

नैतिकता दिनदिनै मरिरहन्छ  

झरिरहन्छ इमान आफ्नै नजरबाट दिनदिनै 

हुन नसकेर विचारको दासताबाट मुक्त

पल पल परजीवी भइरहन्छ बौद्धिक विज्ञान

बिव्रmी भइरहन्छन् वादहरू 

भौतिक सुखको मलामी बजारमा

जेसुकै होस्

आस्था, आत्मा र अस्तित्व नासेर

भरिए पनि पेटहरू

प्रविधिको आविष्कार र विज्ञानको चमत्कारले

टाढिए पनि मृत्यु जीवनबाट 

यो पृथ्वीमा– भोकको रहस्य

र, मृत्युमाथि विजय असम्भव छ ।