• १२ साउन २०८१, शनिबार

सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा सास्ती

blog

गोदावरी समाचारदाता

गोदावरी (कैलाली), जेठ २६ गते ।  सुदूरपश्चिममा ६० हजार आठ जना अपाङ्गता भएका व्यक्तिको बसोबास रहे पनि यहाँका सरकारी कार्यालय भने अपाङ्गतामैत्री छैनन् । 

सरकारी कार्यालय आफूहरूको पहुँचबाहिर रहेकाले सेवा लिँदा वा दिँदा सास्ती हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । सरकारले अपाङ्गतामैत्री भवन आचारसंहिता जारी गरेको बर्सौं बितिसकेको छ तर त्यसको पालना नहुँदा सास्ती खेप्नु परेको अपाङ्गता भएकाहरूको गुनासो छ । 

अपाङ्गता भएकाहरूको दबाबपछि सरकारले २०६६ सालमा सरकारीलगायत सबै सार्वजनिक भवन अपाङ्गतामैत्री बनाउनुपर्ने कानुन जारी गरेको थियो । त्यसपश्चात् बनेका अधिकांश भवन पनि अपाङ्गतामैत्री नरहेको राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “कहीँ कतै नयाँ बन्दै गरेका भवनको ढोकामा ‘¥याम्प’ राखेर नामले अपाङ्गतामैत्री भनी अपाङ्गता भएको दाबी गरिएको छ तर यथार्थमा त्यस्तो भएको कहीँकतै पनि छैन ।” 

ती ‘¥याम्प’ मा पनि अपाङ्गता भएकाले बिनासहारा आफ्नो ह्विलचेयर आवतजावत गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । पछिल्लो समय अपाङ्गता भएका नागरिकका लागि सरकारले विभिन्न सेवासुविधा दिने गरे पनि अधिकांश सरकारी कार्यालय अपाङ्गतामैत्री नहुँदा आफूहरूले सर्वसुलभ रूपमा सेवा उपभोग गर्न नपाएको अध्यक्ष साउदको गुनासो छ । 

सङ्घीयतापछि प्रदेश कानुन बनाउने तथा कार्यान्वयनमा ल्याउने सुदूरपश्चिम प्रदेश सरकारका कुनै पनि मन्त्रालय अपाङ्गतामैत्री नहुँदा केही दिनअघि ह्विलचेयरसहित बोकाएर आफूहरू मुख्यमन्त्री भेट्न सचिवालय पुगेको तितो अनुभव नेपाल पाराओलम्पिक सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घकुमार स्वाँरले सुनाउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्दा रोजगारीका अवसरवाट वञ्चित हुनु परेकाले चाहेजति प्रगति गर्न नसकेको उहाँहरूको गुनासो छ । 

व्यक्ति, समाज र देश निर्माणमा अपाङ्गता भएकाको सहकार्य खोज्न परिवारको माया, समाजको सद्भाव र सरकारले अवसर दिनुपर्ने राष्ट्रिय अपाङ्ग महासङ्घ, सुदूरपश्चिम प्रदेशका सचिव नरदीप धामीले बताउनुभयो । एक/दुई गैरसरकारी संस्थाबाहेक सुदूरपश्चिमका कुनै पनि सरकारी तथा सार्वजनिक भवन अपाङ्गतामैत्री नरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा मात्रै ७० हजारभन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । 

देशमा गणतन्त्र, प्रजातन्त्र ल्याउन भएका ठुलठुला राजनीतिक परिवर्तनमा घाइते र अपाङ्गता भएका व्यक्तिको ठुलो योगदान रहे पनि अपाङ्गता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आउन नसकेका कारण शिक्षित अपाङ्गता भएका व्यक्तिलाई समेत रोजगारी पाउन असहज भएको भनाइ अपाङ्गता भएका नन्दराज भट्टको छ । 

राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा मात्रै ७० हजार आठ जना अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये २२ हजारभन्दा बढी कैलालीमा छन् । यस्तै अपाङ्गता भएका व्यक्तिलाई दुई/चार पैसाको दयामाया देखाउनुभन्दा क्षमता अनुसारको रोजगारीको अवसर दिनुपर्नेमा अपाङ्गता युवा सरोकार मञ्च कैलालीका अध्यक्ष लक्ष्मण विकले बताउनुभयो ।